मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त
बरहथवा (सर्लाही) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या समाधान गर्दै यहाँको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको क्षेत्र नं ४ बाट उम्मेदवारी दिनुभएका उहाँले मधेसमा रहेका विद्यमान समस्या समाधानका लागि आफूले सधैँ सहयोग गर्ने बताए।
यही माघ १२ गते मतदाता भेट्न यहाँ आउनुभएका सभापति थापाले काठमाडौं फर्कनुअघि आज सञ्चारकर्मीसँगको छलफलमा सर्लाहीका जनताबाट स्नेह, साथ र भरोसा लिएर आफू फर्किएको बताए। यहाँको बसाइँका क्रममा उहाँले मधेसका जनताको जीवनस्तर सुधार गर्दै पार्टी सङ्गठन सुदृढीकरण गर्नेलगायत विषयमा स्थानीय नेताकार्यकर्तासँग छलफल गरेका थिए।
सभापति थापाले चुनावी सभा र मतदातालाई सम्बोधन गर्दै आफू समग्र मुलुकसहित मधेसको विकासमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले यहाँका नागरिकबाट पाएका साथ र स्नेह आफ्ना लागि प्रेरणाका स्रोत बनेका प्रतिक्रिया दिए।
“पाँच दिनसम्मको यहाँको बसाइँका क्रममा नागरिकका घरघरमा पुगिरहँदा उहाँहरूले दिनुभएको साथ र स्नेह मेरा लागि थप ऊर्जाका स्रोत बनेका छन् । मधेसको विकास र समृद्धिका लागि योजनाबद्ध काममा अग्रसर हुने प्रेरणा यहाँबाट प्राप्त भएको छ”, सभापति थापाले भने। सर्लाही बसाइँ उपलब्धिमूलक भएको भन्दै उनले स्थानीय पार्टीपङ्क्ति र जनताको साथ र सहयोग पाएको बताए।
यहाँका किसानका मल र बीउसम्बन्धी, उखु किसानको बाँकी भुक्तानीका विषय, कृषिजन्य उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए। सभापति थापा जनकपुर हुँदै विमानस्थलमार्फत काठमाडौँ फर्किनुभएको पार्टीका जिल्ला नेता वीरेन्द्र सिंहले जानकारी दिए।







डिसी नेपाल








Facebook Comment