ओलीको आग्रह-ओखलढुंगाबाट अस्मिता थापा जिताउनुस्,विकासको जम्मा म लिन्छु

डिसी नेपाल
१७ माघ २०८२ १९:३३
72
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयको माग बुझेर पार्टीले ओखलढुंगामा जेनजी पुस्ताकै सक्षम युवा महिला नेतृ अस्मिता थापालाई उम्मेदवार बनाएर पठाएको बताएका छन्।

ओखलढुंगा काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अस्मिताले नै ओखलढुंगाको विकास गर्ने र त्यसको जिम्मा आफूले लिने बताए।

ओलीले भने-जिल्लाको विकास गर्ने र जनताको समस्या बुझ्ने युवा नेतृलाई उम्मेवार बनाएर पठाएका छौं,ओखलढुंगाले अस्मितालाई जिताएर देश जिताउनुपर्छ। अस्मिताले कुनै गलत काम गर्ने,अवसर नपाए पार्टी छाड्ने,जनताको मतको दुरुपयोग गर्ने कुनै काम गर्ने छैनन्,म सम्पूर्ण जिम्मा लिन्छु । अस्मिता थापाको जाकटी बस्छु म ।’

कार्यक्रममा ओखलढुंगाबाट एमाले उम्मेदवार अस्मिता थापाले आफूबाट ओखलढुंगाका जनताले दिएको मत गलत कार्यमा प्रयोग नहुने र असल काम गरेर असल छोरी तथा असल जनप्रतिनिधिका रुपमा प्रमाणित हुने दावी गरिन्।

उनले एमालेले समयको पदचाप बुझेर एमालेले युवालाई उम्मेदवार बनाएको बताउँदै महिलालाई आसन,भाषण र शासनमा पुर्याउने अभियानको नेतृत्व आफूले गर्ने समेत दावी गरिन् ।

थापाले भनिन्-मैले स्थानीय तहमा पनि केही समय काम गरेर जनताको भावना बुझेकी छु। भाषण गरेर होइन कामबाटै प्रमाणित हुन चाहान्छु । युवाको आवाज बनेर युवामैत्री नीति नियम बनाउन मेरो भूमिका र आवाज हुने छ। युवालाई साइबर सेना होइन साइबर क्याफे चलाउने सक्षम र योग्य बनाउन मेरो भूमिका हुनेछ।’

उनले जनताको कर जनताकै सेवा र विकासमा लगाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको भन्दै उनले जिल्लाका प्राकृतिक स्रोत र वन जंगललाई नीति बनाएरै आयआर्जको माध्यम बनाउन आफू अग्रसर हुने आश्वासन समेत दिइन् । थापाले जिल्लाका सडकहरुको अवस्था नाजुक रहेको र पटकपटक दबाब दिँदा पनि विगतमा काम नभएकोले अब माग गर्ने होइन नेतृत्व गर्ने ठाउँबाट काम गर्ने बताइन् ।

उनले भनिन्, ‘म स्थानीय तहको जनप्रतिनिधि हुँदै गर्दा पनि ओखलढुङ्गाको पश्चिमी भेग रामेछापसँग सीमाना जोडिएको छ, त्यो सडक वर्षौँदेखि अलपत्र हुँदा ओखलढुङ्गाले धेरै दुख पाएको छ, यो विषयमा तत्कालीन मन्त्रीहरूलाई जानकारी गराउँदा काम भएन, अब ओखलढुङ्गा आफैँले नेतृत्व गरेर सिमानाका सडकहरू निर्माण गर्दै पालिका पालिकामा कालोपत्रे गर्ने गरी अगाडि बढ्नेछौँ।’

सोही कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले युवा महिला उम्मेदवार पाउँदा ओखलढुंगामा ठूलो उत्साह आएको र एमालेको बिजय निश्चित रहेको बताए । उनले गलत व्यक्तिले पार्टी छाडेर गएपछि युवा उम्मेदवार थापाको जित अझ सहज बनेको दावी समेत गरे ।

सो कार्यक्रममा युवा संघका अध्यक्ष महाराज गुरुङ,ओखलढुंगाका एमाले नेताहरु किशोर अधिकारी,नानीबाबु बुढाथोकीलगायतले युवा उम्मेदवार लिएर जाँदा जनताबाट राम्रो प्रतिक्रिया पाएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.