ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते
घोराही (दाङ) । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्।
घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१५ स्थित भिङ्ग्रेली भिलेज होटेल नजिकै आज लमहीबाट घोराहीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ ख २५८० नम्बरको ट्रकले लमहीतर्फ जाँदै गरेको रा५प ३६३९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा लमही–६ का २२ अङ्कित चौधरीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिए। उनका अनुसार दुर्घटनामा मृतक अङ्कित चौधरीका बुबा स्कुटर चालक लमही–६ का ५३ वर्षीय इन्द्रबहादुर चौधरी घाइते भएका छन्। घाइते चौधरीको दाहिने खुट्टा र बायाँ हातको औँलामा चोट लागेको छ।
प्रहरीले ठक्कर दिने ट्रक चालक बैतडीको डिलासैनी गाउँपालिका–५ का ४२ वर्षीय राजु साउदलाई घोराही उपमहानगरपालिका–३ गोग्लीबाट नियन्त्रणमा लिएको छ।







डिसी नेपाल








Facebook Comment