राष्ट्रपति पौडेल जापान प्रस्थान: कस्तो छ भ्रमण तालिका ?
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणमा गएका छन्।
आइतबार मध्यरातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्री, सुरक्षा निकाय प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपालका लागि जापानी राजदूतलगायतले राष्ट्रपति पौडेललाई बिदाइ गरेका हुन्।
राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी सविता पौडेल, नेपाल सरकारका उच्च अधिकारी र राष्ट्रपति कार्यालयका पदाधिकारी संलग्न छन्। राष्ट्रपति पौडेल यही माघ २१ स्वदेश फर्कने तालिका छ ।
नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा गएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका अवसरमा राष्ट्रपति पौडेल नेपाल-जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारका तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउने कार्यक्रम छ।
पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम छ। सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच भेटवार्ता हुने कार्यतालिका छ। भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।
यसैगरी जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनका साथै राष्ट्रपति पौडेलले जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनेछन्।
नेपाल–जापान सम्बन्ध अठारौँ शताब्दीको अन्त्यतिरबाट सुरु भएको हो। १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि यो सम्बन्ध औपचारिक भयो, जुन मित्रता, सद्भाव र सहयोगले चिनिन्छ।
कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो। जापानको ओसाकामा नेपालको मानार्थ वाणिज्य दूतावाससमेत रहेको छ।







डिसी नेपाल








Facebook Comment