रौतहट-४ मा बढ्यो चुनावी सरगर्मी
रौतहट। फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिएसँगै रौतहट क्षेत्र नं. ४ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। उम्मेदवारहरू आफ्नो एजेन्डासहित मतदाताको घरदैलोमा पुगेपछि बस्तीहरुमा चुनावी बहस सुरु भएको छ।
यसपटक रौतहट-४ मा ३७ जनाको उम्मेदवारी परेको छ, जसमा ३० पुरुष र ६ महिला चुनावी मैदानमा छन्। नेपाली कांग्रेसबाट देव प्रसाद तिमल्सिना, नेकपा एमालेका रामजी साह, र नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराई बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेल र आम जनता पार्टीका ऋषि धमला पनि सशक्त रूपमा घरदैलो अभियानमा व्यस्त छन्। जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र उज्यालो नेपालका उम्मेदवारहरूले पनि आफ्नो उपस्थिति बलियो बनाउँदै मतदाता रिझाउन व्यस्त देखिन्छन्।
उम्मेदवारहरूले विकास र समृद्धिलाई मुख्य नारा बनाएका छन्। सडक सञ्जालको विस्तार, खानेपानीको सुनिश्चितता र सुकुम्बासी समस्याको स्थायी समाधान गर्ने प्रतिवद्वता समेत मतदाता समक्ष उनीहरुले जनाएका छन्।
उम्मेदवारहरुले कृषिमा आधुनिकीकरण, गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुधारका एजेन्डा पनि अघि सारेका छन्। उनीहरुले संविधान संशोधनको आवश्यकता औल्याउँदै भ्रष्टाचार मुक्त प्रशासन र पारदर्शी विकासको साझा प्रतिवद्धता व्यक्त गरेका छन्।
यसपटकको निर्वाचनमा ३० जना नयाँ अनुहार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। २० जना स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले ठुला दलहरूलाई दबाब सिर्जना गरेको छ। मतदाताहरूले पुरानै अनुहार दोहोर्याउने कि नयाँलाई अवसर दिने भन्ने विषयमा क्षेत्रभरि व्यापक चर्चा भइरहेको छ।
निर्वाचन नजिकिँदै गर्दा दलीय झन्डा र चुनाव चिह्नले रौतहटको क्षेत्र नं. ४ रंगिएको छ। ३७ उम्मेदवारमध्ये मतदाताले कसलाई विजयी गराएर संसद् पठाउने हुन्, त्यो भने फागुन २१ को मतदानपछि मात्रै टुङ्गो लाग्नेछ।







डिसी नेपाल








Facebook Comment