‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

डिसी नेपाल
१९ माघ २०८२ ९:३१
948
Shares

नारायणगढ (चितवन)। भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक मानिन्छ । सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा शरीरमा उत्पादन हुने भिटामिन डी को कमी हुँदा शरीरमा विभिन्न समस्या देखा पर्न थाल्छ ।

चिकित्सकका अनुसार मासु, अण्डा तथा दुग्धजन्य पदार्थमा भिटामिन डी पाइन्छ । भिटामिन डीयुक्त खाना खाएर यसको कमी धेरै हदसम्म हटाउन सकिन्छ, तर केही अवस्थामा सप्लिमेन्ट आवश्यक पर्छ ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन तथा इन्डोक्राइनोलोजिस्ट, एसोसिएट प्रोफेसर डा कल्याण सापकोटाका अनुसार, भिटामिन डीको कमी बच्चादेखि वृद्धसम्म सबै उमेर समूहमा स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

यसलाई ‘सनसाइन भिटामिन’ पनि भनिन्छ । डा सापकोटाले भने, “भिटामिन डी हर्मोन पनि हो । हाम्रो छालामा घामको प्रकाश पर्दा शरीरले यसलाई उत्पादन गर्छ । तर आजकाल धेरै व्यक्तिमा यसको कमी देखिएको छ ।”

उहाँले नवजातदेखि १२ महिनासम्मको बच्चामा दैनिक ४०० युनिट र वयस्कमा दैनिक १००० युनिट भिटामिन डी आवश्यकपर्ने बताए । अस्पतालमा भिटामिन डीको कमीका कारण विभिन्न लक्षण लिएर धेरै बिरामी आउने गरेको उल्लेख गर्दै उनले भने, “भिटामिन डी पाउने मुख्य स्रोत खानपान र घाम हो ।

नपानबाट विशेषगरी मासु, अण्डा तथा दुग्धजन्य पदार्थबाट प्राप्त हुन्छ । अन्य खानेकुराबाट पर्याप्त मात्रा पाउन सकिँदैन । जस्तै नूनमा आयोडिन मिलाइन्छ, त्यसैगरी फोर्टिफाइड खाना, तेल वा घ्यूमा भिटामिन मिसाएर सेवन गर्न सकिन्छ । नेपालमा खानामा फोर्टिफाइड सामग्री मिसाउने प्रचलन धेरै छैन ।

साथै, घामको प्रकाशले सबैलाई पर्याप्त भिटामिन डी नपुग्ने अवस्था पनि देखा पर्छ ।” उनले थपे, “भिटामिन डीको लागि विशेषगरी बिहान १०–११ बजेदेखि दिउँसो ३ बजेसम्मको घाम महत्वपूर्ण हुन्छ । उक्त समयमा १०–३० मिनेटसम्म छालामा घाम लाग्दा भिटामिन डी शरीरमा उत्पादन हुन्छ । ” उनले घाम ताप्दा सनस्क्रिन नलगाउने र छाला ढाक्ने कपडा नलगाउने सुझाव दिए । उनले जाडो महिनामा घामको प्रकाश पर्याप्त नपुग्ने हुँदा यसको पूर्ति खानाबाट वा सप्लिमेन्टबाट गर्नुपर्ने बताए ।

उहाँका अनुसार भिटामिन डीले क्याल्सियमको सन्तुलन कायम राख्न, हड्डी, मांसपेशी, छाला र रोग प्रतिरोधात्मक प्रणालीको स्वास्थ्य सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ । पर्याप्त भिटामिन डीले क्यान्सर र सङ्क्रमणको जोखिम पनि कम गर्छ । यसको कमीले शरीर दुख्ने, मांसपेशी कमजोर हुने, हड्डी भाँचिने, थकान, बच्चामा उचाइ कम हुनु, खुट्टा बाङ्गो हुनु जस्ता लक्षण देखापर्ने डा सापकोटाले बताए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.