निर्वाचित सुनिश्चितका लागि प्रहरीको भूमिका संवेदनशील : प्रधानमन्त्री

डिसी नेपाल
१९ माघ २०८२ १३:०५
24
Shares

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचित सुनिश्चितका लागि प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताएकी छन्।

सोमबार काठमाडौंमा नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचन उत्तरदायी लोकतान्त्रिक यात्राको एक कोसेढुङ्गा भएको भन्दै स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचित सुनिश्चितका लागि प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताएकी हुन्।

नेपाल प्रहरीको बिगतदेखि वर्तमानसम्मको क्रियाकलापले प्रहरी र समुदायबीचको नाता कसिलो छ भन्ने प्रमाणित भएको उनले बताइन्। प्रधानमन्त्री कार्कीले कुनै राजनीतिक प्रभाव, दबाव वा पूर्वाग्रहबाट माथि उठेर कानुनको मर्म अनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन समेत दिइन्। उनले सुरक्षा निकायको निष्पक्षता नै लोकतन्त्रको सुरक्षा कवच भएको उल्लेख गरिन्।

उनले परम्परागत अपराधसँगै साइबर अपराध, संगठित अपराध, वित्तीय अपराध, बहुदेशीय अपराध र सामाजिक द्वन्द्वका नयाँ आयामहरू देखा परिरहेका अवस्थामा प्रहरी निरीक्षकको भूमिका केवल आदेश पालनामा मात्रै सीमित नरही, एक विश्लेषक र समाधानकर्ताको रूपमा विकसित हुनुपर्नेमा जोड दिइन्।

त्यस्तै समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालय प्रहरीलाई आदेश दिने निकाय मात्र नभइ अभिभावक पनि रहेकाले प्रहरीलाई नियन्त्रण गर्ने नभइ सक्षम बनाउन चाहेको बताए। प्रहरीलाई नीतिगत स्पष्टता, संस्थागत मजबूती र व्यावसायिक स्वतन्त्रता प्रदान गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ।

गृहमन्त्री अर्यालले शक्ति दुरूपयोग रोक्न, भ्रष्टाचार नियन्त्रण गर्न पूर्णरूपमा तटस्थ, व्यावसायिक र कानून अनुसार मात्र परिचालन हुन निर्देशन दिए।

उनले कुनै पनि तत्वले नेपाल प्रहरीको निष्पक्षतालाई कमजोर पार्न नपाउने स्पष्ट पार्दै विगतमा जस्तै प्रहरीले यसपटकको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न गरेर आफ्नो व्यावसायिक दक्षता प्रमाणित गर्ने विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.