मकवानपुर-१ मा अनुभवी र नयाँ अनुहारबीच रोचक चुनावी भिडन्त
मकवानपुर। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर-१ मा अनुभवी राजनीतिज्ञदेखि पहिलोपटक संसदीय प्रतिस्पर्धामा उत्रिएका नयाँ अनुहारसम्मको रोचक भिडन्त हुने देखिएको छ।
२३ जनाले उम्मेदवारी दर्ता गराए पनि वास्तविक प्रतिस्पर्धा भने केही सीमित उम्मेदवार र राजनीतिक धारबीच केन्द्रित हुँदै गएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यस क्षेत्रका मुख्य खेलाडीका रूपमा देखिएका छन्।
यद्यपि, उज्यालो नेपाल पार्टी र श्रम संस्कृति पार्टीका उम्मेदवारहरूको उपस्थिति रहेपनि चुनावी नतिजालाई निर्णायक रूपमा प्रभावित गर्ने प्रतिस्पर्धा कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डीना’, एमालेका रामेश्वर राना, राप्रपाका दीपक बहादुर सिंह, नेकपाका विजय गौतम र रास्वपाका प्रकाश गौतमबीच सीमित हुने अनुमान गरिएको छ।
यी पाँचमध्ये कांग्रेसकी डीना, एमालेका राना र राप्रपाका सिंह राजनीतिमा खारिएका अनुभवी अनुहार हुन् भने नेकपाका विजय गौतम र रास्वपाका प्रकाश गौतम संसदीय राजनीतिका लागि नयाँ मानिन्छन्।
अनुभवी र नयाँ पुस्ताबीचको यही द्वन्द्वले यसपटक मकवानपुर-१ लाई विशेष अर्थ दिएको राजनीतिक विश्लेषकहरू बताउँछन्। कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डीना’ ले यो निर्वाचनलाई आफ्नो राजनीतिक यात्राको निर्णायक मोडका रूपमा हेरेकी छन्।
नेपाली कांग्रेसको सह-महामन्त्रीको जिम्मेवारी सम्हालिसकेकी डीना पार्टी राजनीतिमा प्रभावशाली मानिए पनि जननिर्वाचनमा भने उनले सधैँ चुनौतीपूर्ण यात्रा तय गर्दै आएकी छन्। यो उनको पाँचौँ संसदीय प्रतिस्पर्धा हो। यसअघि चार निर्वाचनमा पराजित भएकी उनी दुई पटक समानुपातिक सांसद हुँदै राज्यमन्त्रीसमेत बनेकी थिइन्।
०७९ को निर्वाचनमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार बनेकी डीना राप्रपाका दीपक बहादुर सिंहसँग पराजित भएकी थिइन्। गठबन्धन हुँदाहुँदै पराजय बेहोरेपछि उनले कांग्रेसभित्रकै केही नेताले आफूलाई हराउन भूमिका खेलेको आरोपसमेत लगाएकी थिइन्।
यसपटक भने उनले समानुपातिक सूची त्यागेर प्रत्यक्ष प्रतिस्पर्धा रोजेकी छन्। मकवानपुर कांग्रेस संगठन बलियो बनेको दाबी गर्दै उनले यसपटक जीत सुनिश्चित हुने बताउँदै आएकी छन्।
बागमती प्रदेश कांग्रेस सभापति इन्द्रबहादुर बानियाँको खुलेको समर्थनले उनको उम्मेदवारीलाई थप बल मिलेको कांग्रेस नेताहरूको विश्लेषण छ। यता, एमालेका रामेश्वर राना यस क्षेत्रका सबै उम्मेदवारमध्ये सबैभन्दा पाका र संगठन बुझेका नेता मानिन्छन्। तत्कालीन मालेदेखि राजनीतिमा सक्रिय रानाले शालिन र त्यागी नेताको छवि बनाएका छन्।
०७९ मा जिल्ला कमिटीबाट सिफारिस हुँदाहुँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले राप्रपा नेपालका कमल थापालाई एमालेको चुनाव चिह्न दिएपछि राना उम्मेदवार बन्नबाट वञ्चित भएका थिए।
त्यस निर्णयपछि पार्टीभित्र असन्तुष्टि चुलिएको थियो। थापाले उक्त निर्वाचनमा २५ हजार ४२० मत प्राप्त गरेका थिए। यही मत आधारलाई टेकेर यसपटक आफ्नै उम्मेदवार पाएको एमालेले मकवानपुर–१ मा पुरानो विरासत फिर्ता ल्याउने रणनीति बनाएको छ।
जिल्ला विकास समितिको सभापतिको अनुभव भए पनि संसदीय यात्रामा भने रानाको यो पहिलो प्रयास हो। गठबन्धनविहीन प्रतिस्पर्धामा एमाले एक्लै चुनाव लड्दा जीत सम्भव हुने पार्टी नेताहरूको दाबी छ ।
राप्रपाका उम्मेदवार दीपक बहादुर सिंह ०७९ को निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए। पटक-पटकको पराजयपछि त्यो उनको पहिलो संसदीय जीत थियो। उनले २७ हजार ८१६ मत प्राप्त गर्दै कांग्रेसकी डीना लाई २ हजार ३८२ मतान्तरले पराजित गरेका थिए।
गत निर्वाचनको विरासत जोगाउने लक्ष्यसहित सिंह यसपटक पनि सक्रिय चुनावी अभियानमा छन्। कांग्रेसभित्रको असन्तुष्टि र संगठनात्मक कमजोरीले आफूलाई फाइदा पुग्ने उनको पक्षको विश्लेषण छ ।
नेकपाबाट उम्मेदवार बनेका विजय गौतम मकवानपुरे मतदाताका लागि नयाँ अनुहार हुन्। नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा प्रमुख स्वकीय सचिवको भूमिकामा रहेका गौतम केन्द्रको नेतृत्वको बलमा टिकट पाएको आरोपसहित जिल्लास्तरमा केही असन्तुष्टि देखिएको छ। यद्यपि पार्टीले युवा उम्मेदवारका कारण युवा मतदाता आकर्षित हुने अपेक्षा गरेको छ। संसदीय निर्वाचनमा उनको यो पहिलो सहभागिता हो।
यी सबैका लागि साझा चुनौतीका रूपमा भने राष्ट्रिय स्वतन्त्र पार्टी देखिएको छ। ‘घण्टी’ चुनाव चिह्नप्रतिको बढ्दो आकर्षणका कारण रास्वपाका उम्मेदवार प्रकाश गौतम ठूला दलका लागि प्रत्यक्ष चुनौती बन्न सक्ने आकलन गरिएको छ। रास्वपा मकवानपुरका उपसभापति रहेका गौतम होटल व्यवसायीसमेत हुन् र संगठन विस्तारमा सक्रिय छन्।
०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ जीत हासिल नगरे पनि रास्वपाले समानुपातिकतर्फ मकवानपुरमा २९ हजार ८८९ मत ल्याउँदै तेस्रो स्थान हासिल गरेको थियो। यही मत आधारलाई प्रत्यक्षमा रूपान्तरण गर्ने रणनीतिसहित पार्टीले वडा-वडासम्म संगठन विस्तार गरेको छ। यसैले मकवानपुर-१ मा रास्वपा अब ‘कट-भोट’ होइन, प्रत्यक्ष प्रतिस्पर्धीका रूपमा देखिन थालेको छ ।
इतिहास हेर्दा २०७९ अघि मकवानपुर–१ एमालेको निरन्तर जितको क्षेत्र रहँदै आएको थियो। २०७४ मा एमालेका कृष्णप्रसाद दाहाल विजयी भएका थिए भने २०७९ मा कमल थापालाई चुनाव चिह्न दिँदा एमालेले पराजय व्यहोर्नुपरेको थियो।
समग्रमा, मकवानपुर-१ को निर्वाचन अनुभवी र नयाँ अनुहार, संगठन र असन्तोष, तथा परम्परागत दल र वैकल्पिक शक्तिबीचको प्रत्यक्ष भिडन्तका रूपमा विकसित हुँदै गएको छ। उम्मेदवार धेरै भएपनि अन्तिम निर्णय केही सीमित पात्रबीच केन्द्रित हुने देखिन्छ।







डिसी नेपाल








Facebook Comment