३ दिदीबहिनीले ९ तलाबाट हाम्फाले, सबैको ज्यान गयो
काठमाडौं । कोरियन गेमको लतमा फसेका एकै परिवारका ३ दिदीबहिनीहरूले ९ तला माथिबाट हाम्फालेर आत्महत्या गरेका छन् । भारतको उत्तर प्रदेश गाजियाबादको भरत सिटी सोसाइटीमा सोमबार बिहान करिब २ बजे उनीहरूले आत्महत्या गरेका हुन् ।
प्रहरीका अनुसार चेतन कुमारकी छोरीहरू १६ वर्षीया निशिका, १४ वर्षीया प्राची र १२ वर्षीया पाकीको शव बिहान फेला परेको हो। परिवारका अन्य सदस्यहरू सुतिरहेको अवस्थामा घटना भएको बताइएको छ। प्रारम्भिक अनुसन्धानमा तीनै जना ‘कोरियन लभर’ नामक कथित अनलाइन टास्क–आधारित गेमप्रति अत्यधिक लतमा परेको आशंका गरिएको छ।
परिवारका सदस्यहरूले उनीहरू लामो समय मोबाइलमै व्यस्त रहने, मोबाइल प्रयोग रोक्न खोज्दा विवाद हुने गरेको बयान दिएका छन्। खेलप्रतिको लतका कारण उनीहरूले विद्यालय जानसमेत छाडेको खुलेको छ।
प्रहरीले अनलाइन गेममार्फत मानसिक दबाब, सम्भावित अनलाइन दुर्व्यवहार, बाह्य व्यक्तिको प्रभाव वा पारिवारिक कारण—सबै कोणबाट घटनाको अनुसन्धान भइरहेको जनाएको छ। यसका लागि तीनैजनाका मोबाइल फोनहरू जफत गरी डिजिटल गतिविधि र सञ्चार विवरणको फरेन्सिक परीक्षण भइरहेको छ।







डिसी नेपाल







Facebook Comment