झापा-५ मा ढुक्क छैनन् ओली, गठबन्धनको प्रयास जारी

डिसी नेपाल
२२ माघ २०८२ १२:३९
288
Shares

काठमाडौं। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी ध्यान झापा-५ मा केन्द्रित भएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्न काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर बालेन शाह झापा-५ मा पुगेपछि सो क्षेत्र यतिबेला चर्चाको केन्द्रमा छ। बालेनप्रतिको बढ्दो क्रेजका कारण फागुन २१ मा हुने निर्वाचनमा कसले बाजी मार्ला बन्ने विषय झापादेखि काठमाडौंका चिया पसलसम्म हुन थालेका छन्।

०६४ को संविधानसभा बाहेक अन्य सबै निर्वाचनमा जित निकाल्दै आएका ओलीलाई यो पटक झापा-५ बाट जित निकाल्न चुनौतीपूर्ण बन्दै गएको विश्लेषण हुन थालेको छ। यसअघिका निर्वाचनमा राप्रपासँग गठबन्धन गर्दा ओलीलाई सहज भएको थियो। तर यो निर्वाचनमा भने सबै दलहरु विना गठबन्धन चुनावमा होमिएका छन्।

जसका कारण बालेन ओलीका लागि चुनौती बनेका छन्। सो क्षेत्रमा राप्रपा र नेपाली कांग्रेसका अधिकांश कार्यकर्ता रास्वपाको पक्षमा खुलेपछि ओलीलाई चुनौती थपिएको हो। एमालेका एक स्थानीय कार्यकर्ताका अनुसार ओलीले चुनाव जित्नेमा शंका छैन तर, अहिलेको रास्वपाको माहोलले निकै चुनौती थपिएको छ।

ओली आफ्नो निर्वाचन क्षेत्रमा शुक्रबार जाँदैछन्। बालेन अहिले झापामा नै व्यस्त छन्। यी दुवै उम्मेदवार भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएका छन्। एमालेले ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको छ भने रास्वपाले पनि बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको छ। त्यसैले पनि ओली र बोलनलाई यो चुनाव जित्नै पर्ने दबाव छ। आफू दबावमा परेपछि ओलीले सो क्षेत्रमा गठबन्धन गर्ने प्रयास गरेका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको निर्वाचन क्षेत्र पनि झापामै छ। झापामा राप्रपाको राम्रो मत छ। ओलीको क्षेत्रमा दमक नगरपालिका पनि पर्छ। दमक नगरपालिकाका मेयर नै राप्रपाका हुन् । यसले पनि त्यहाँ राप्रपाको मत उल्लेख्य भएको देखाउँछ।

झापा-५ कै एक स्थानीय कार्यकर्ताका अनुसार अहिले त्यहाँ रास्वपाको माहोल राम्रो देखिएको छ । उनका अनुसार एमालेको कोर मत घटेको छैन तर कांग्रेस र राप्रपाको ठूलो कार्यकर्ता पंक्ति रास्वपातिर ढल्किएको छ। यसअघि ओलीले पाएको मतमा राप्रपाको मत पनि भएको अवस्थामा त्यो मत र कांग्रेसको मत समेत रास्वपातिर जाँदा ओलीलाई कठिन हुन सक्ने कार्यकर्ताहरु विश्लेषण गर्छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.