बागलुङका दुई हजार ३२० किशोरीलाई एचपिभी खोप लगाइने

डिसी नेपाल
२४ माघ २०८२ २१:४५
20
Shares

ढोरपाटन (बागलुङ)। जिल्लाका दुई हजार ३२० किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ। आगामी फागुन १ देखि १५ गतेसम्म जिल्लाका २२० विद्यालयमा अध्ययन गर्ने दुई हजार ३१३ र विद्यालयभन्दा बाहिरका सात जना किशोरीलाई ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाइने भएको हो।

विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई खोप दिइने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए। निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई विद्यालयमा केन्द्र स्थापना गरी खोप लगाइने छ। अघिल्लो वर्ष ६ देखि १० कक्षामा अध्ययन गर्ने र विद्यालय बाहिरका १०–१४ वर्षका ११ हजार १७७ जनालाई खोप लगाइएको थियो।

गत वर्ष अभियानका रूपमा लगाइएको खोप यस वर्ष नियमित लगाउन सुरु गरिएको खत्रीले बताए। अघिल्लो वर्षभन्दा यस वर्ष खोप लगाउन मापदण्ड फरक भएको उनले उल्लेख गरे। अघिल्लो वर्ष ६–१० कक्षामा अध्ययन गर्ने र १०–१४ वर्षका किशोरीलाई खोप लगाएकामा यस वर्ष कक्षा ६ मा अध्ययन गर्ने र विद्यालय बाहिरका १० वर्षका किशोरीलाई खोप दिइने खत्रीले जानकारी दिए। खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएकाले यो खोप नपाएकाले गत वर्षदेखि खोप अभियान प्रारम्भ भएको थियो।

खत्रीले भने, “जिल्लाका दशवटै स्थानीय तहमा कक्षा ६ देखिमाथि अध्ययन हुने विद्यालयमा अध्ययन गर्ने किशोरीलाई यो खोप लगाउँदै छौँ, खोप लगाउनका लागि जनशक्ति व्यवस्थापन, तालिम दिनेलगायत तयारी भइरहेको छ। विद्यालय, स्वास्थ्यचौकी तथा सार्वजनिक स्थानमा किशोरीलाई पायकपर्ने ठाउँमा पुगेर खोप लगाइने छ।” खोप सुरक्षित रहेकाले सम्बन्धित सबैलाई लगाउन उनले अनुरोध गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.