जुम्लामा निर्वाचन लक्षित मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै

डिसी नेपाल
२४ माघ २०८२ २२:२८
20
Shares

जुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै निर्वाचन कार्यालयले यहाँका आठवटै स्थानीय तहका ६० वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको छ। आगामी फागुन ३ देखि १७ गतेसम्म जिल्लाका ६० वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

आयोगको केन्द्रीय कार्यालयको परिपत्रअनुसार कम्तीमा एसइई वा सो सरह उत्तीर्ण गरेका बाल विकास सहजकर्ता वा मातृ स्वास्थ्य कार्यकर्ता वा स्थानीय स्वास्थ्य स्वयंसेविका वा सामुदायिक अध्ययन केन्द्रका परिचालनलाई यहाँका प्रत्येक वडामा एक–एक जनाका दरले मतदाता शिक्षा स्वयंसेवकका रूपमा नियुक्ति गरिने जिल्ल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए।

उल्लिखित स्वयंसेवक नियुक्ति गर्दा विगतमा मतदाता शिक्षा कार्यकर्ता वा निर्वाचन शिक्षा स्वयंसेवकका रूपमा कुनै पनि निर्वाचनमा अनुभव हासिल गरेको व्यक्तिलाई विशेष प्रथमिकता दिएर मतदाता शिक्षा स्वयंसेवक नियुक्ति गर्न भनेर आयोगको केन्द्रीय कार्यालयबाट कार्यविधि पठाएको छ।

निर्वाचन अधिकारी कँडेलले भने, “मतदाता शिक्षा विशेष कार्यक्रमअन्तर्गत आममतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्नु हो।” मतदानको कार्यमा आम मतदाताको सहभागिता अभिवृद्धि र बदर मतको सङ्ख्या न्यूनीकरण गर्नु पनि यस कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाइ छ।

मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिनु, मतपत्र प्रयोग गर्ने सही तरिका बुझाउनु तथा मतदान गर्दा ध्यान दिनुपर्ने विषयमा सचेत गराउनु कार्यक्रमको लक्ष्य रहेको छ। मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन सकेमा मतदातालाई मतदान गर्न सहज हुने र बदर मतको समस्या उल्लेखनीय रूपमा घट्ने विश्वास गरिएको निर्वाचन अधिकारी कँडेलले बताए।

निर्वाचनका लागि जिल्लामा कुल जम्मा मतदाता सङ्ख्या ७१ हजार ७३९ जना रहेका छन्। कुल मतदातामध्ये महिला मतदातातर्फ ३४ हजार २८० र पुरुष मतदातातर्फ ३७ हजार ४५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.