विवेकको मत: देश बनाउन सर्वसम्मत
विश्वप्रसिद्ध नाटककार विलियम शेक्सपियरले आफ्नो नाटक ‘एज यु लाइक इट’ मा भनेका छन्- “सारा संसार एक रंगमञ्च हो, र यहाँका सबै पुरुष र महिला फगत पात्र मात्र हुन्; उनीहरू आउँछन् र जान्छन्।”
तर, राजनीतिको रंगमञ्च कुनै नाटकघर होइन, जहाँ पात्रले अभिनय बिगार्दा केवल तालीको गडगडाहट कम हुन्छ। राजनीतिको रंगमञ्चमा जब पात्रले आफ्नो भूमिका बिर्सन्छ, तब देश जल्छ, हजारौंको सपना खरानी हुन्छ र पुस्ताको भविष्यमाथि खेलबाड हुन्छ।
आज फागुन २१ को संघारमा उभिएर नेपाली राजनीतिलाई नियाल्दा हामी एउटा यस्तो चौबाटोमा छौं, जहाँ एकातिर दशकौंदेखि जरा गाडेर बसेको ‘परागति’ (Stagnation) छ भने अर्कोतिर ‘नवीनता’ को आवरणमा देखिएको अराजकता र अस्थिरताको अनिश्चित बादल मडारिइरहेको छ।
निर्वाचन लोकतन्त्रको महाकुम्भ हो। तर, जब यो महाकुम्भमा विवेकभन्दा भावनाको ज्वारभाटा ठूलो हुन्छ, तब नतिजा दुर्घटनापूर्ण हुन्छ। अहिले विद्वत् वर्गमा एउटा गहिरो बहस चलिरहेको छ- नेता कस्तो हुने ? नीति कस्तो हुने ? र सबैभन्दा महत्त्वपूर्ण प्रश्न- हामीले जसलाई ‘असफल’ भनिरहेका छौं, के विकल्पका नाममा आएकाहरू ‘सफल’ हुने ब्लु-प्रिन्ट बोकेर आएका छन् ? कि उनीहरू पनि भावनाका फोकामात्र हुन्, जो सत्ताको तातो हावा लाग्नासाथ फुट्नेवाला छन् ?
इतिहासको ऐनामा अ/सफल अनुहारहरू
हामीले बितेका तीन दशकमा जे देख्यौं, त्यो केवल पात्र परिवर्तन थियो, प्रवृत्ति उही रह्यो। १७ हजार नागरिकको रगतको होली खेलेर, अर्बौंको भौतिक संरचना ध्वस्त बनाएर आएका प्रचण्ड-बाबुरामहरूले देशलाई सिङ्गापुर बनाउने सपना बाँडे। तर, हात लाग्यो- शून्य। केपी ओलीले ‘समृद्ध नेपाल’ को नारा दिए, तर व्यवहारमा देखिएको दम्भ र विधि मिच्ने प्रवृत्तिले संस्थागत थिति भत्कियो।
काँग्रेस र एमालेका नेताहरूले भ्रष्टाचार गरे भन्ने झोकमा आज राज्य र निजी सम्पत्ति जलाउने जमात खडा भएको छ। शेरबहादुर देउवा जस्ता बयोवृद्ध नेतामाथि सांघातिक आक्रमण गर्न तम्सिने, कानुन हातमा लिने र जेल तोडेर भाग्नेहरूलाई ‘क्रान्तिकारी’ देख्ने एउटा खतरनाक भाष्य निर्माण गरिँदैछ।
विडम्बना त के छ भने, हिजो गुण्डागर्दीको नाइके भनेर चिनिने दीपक मनाङ्गेहरू आज राजनीतिको उच्च आसनमा ‘सफल’ कहलिन्छन्। यो हाम्रो नैतिकताको पतन हो कि राजनीतिक बाध्यता ?
यी पुराना पात्रहरूसँग देश बदल्ने कुनै ‘डेरिङ डेलिभरी ड्रीम’ थिएन, न त कुनै स्पष्ट ‘ब्लु-प्रिन्ट’ नै थियो। यदि थियो भने, ३० वर्ष लामो समय उनीहरूका लागि पर्याप्त थियो।
उनीहरूको कामको रेकर्ड ‘ओपन सेक्रेट’ छ। अबपनि उनीहरूबाटै चमत्कारको अपेक्षा गर्नु भनेको आफैंलाई धोका दिनु हो। राजनीतिमा एउटा भ्रम बारम्बार बेचिन्छ- समय छोटो भयो, काम गर्न पाइएन।
तर विश्व राजनीति यसको साक्षी छ कि समय होइन, दृष्टि र इमान चाहिन्छ। ९ महिना स्वास्थ्य मन्त्री भएको एक नेताले आफूलाई “काम गरेर देखाउन सकिने” नेता भनेर प्रमाणित गरे । न त उनीसँग दशकौंको सत्ता थियो, न पूर्ण स्वतन्त्रता- तर स्पष्ट प्राथमिकता, डाटा-आधारित निर्णय र परिणाम-मुखी सोच थियो।
यसलाई यदि अन्तर्राष्ट्रिय उदाहरणसँग तुलना गरियो भने-
-न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्न ले पहिलो कार्यकालको सुरुवाती वर्षमै मानसिक स्वास्थ्य र बाल गरिबीलाई राष्ट्रिय प्राथमिकता बनाइन्।
-जर्मनीका स्वास्थ्य मन्त्री जेन्स स्पान ले छोटो अवधिमै डिजिटल हेल्थ र बीमा सुधार सुरु गरे।
यी सबैले एउटै कुरा प्रमाणित गर्छन्- नेतृत्वको मापन कुर्सीको अवधि होइन, निर्णयको दिशा हो।
त्याग र नैतिकताको कसीमा : एक तुलनात्मक अध्ययन
तर, यो अँध्यारो सुरुङमा पनि केही झिल्काहरू देखिएका छन्, जसले ‘सिस्टम’ र ‘संस्कार’ को वकालत गर्छन्। यहाँ दुई प्रसंग जोड्नु सान्दर्भिक हुन्छ।
पहिलो, काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा।
उहाँले करिब दुई वर्षअघि देखि नै आफू चुनाव नलड्ने र अन्य योग्य आकांक्षी साथीभाइलाई पालो दिने घोषणा गर्नुभयो। सत्ता र शक्तिको लुछाचुँडीमा आफूलाई पछाडि राखेर त्यागको उदाहरण दिनु चानचुने कुरा होइन।
दोस्रो, एमाले नेता प्रदीप ज्ञवाली। तत्कालीन प्रधानमन्त्री केपी ओलीले उहाँलाई राजनीतिक सल्लाहकार बनाउन खोज्दा उहाँले दिएको जवाफ आजको पुस्ताले पढ्नैपर्ने पाठ हो- “जनताले अनुमोदन नगरेको अवस्थामा म कुनै पनि राजकीय पदमा बस्दिनँ।” यो नैतिकताको पराकाष्ठा थियो। तर विडम्बना, त्यही ठाउँमा ओलीलाई असफल बनाउने सदाबहार पात्र विष्णु रिमालहरूको हालीमुहाली चल्यो।
जब नेतृत्वले नैतिकता गुमाउँछ र घेराभित्रका ‘यस म्यान’ हरूमा रमाउँछ, तब शासन व्यवस्था कमजोर हुन्छ। प्रदीप ज्ञवालीको त्यो अडान र विष्णु रिमालको त्यो नियुक्ति- यी दुई घटनाले नै बताउँछ कि हाम्रो समस्या व्यक्तिमा मात्र होइन, चयन प्रक्रियामा पनि छ।
‘नयाँ’ को आवरण र पलायनको खतरा
अहिले बजारमा ‘नयाँ’ र ‘स्वतन्त्र’ को ठूलो हल्ला छ। सामाजिक सञ्जालका भित्ताहरू रंगिएका छन्। तर, हामीले बिर्सन नहुने कुरा के हो भने– देश ‘भाइरल कन्टेन्ट’ ले चल्दैन, देश विधि र विधानले चल्छ।
काठमाडौंको मेयर बालेन शाह, जसलाई धेरैले आशाको केन्द्र मानेका थिए, उहाँको पछिल्लो कदमले गम्भीर प्रश्न खडा गरेको छ। ५ वर्षका लागि जनतासँग ‘करार’ गरेर आएको एउटा मेयर, आफ्नो कार्यकाल नसकिँदै, काठमाडौंको विकास बजेट (Capital Expenditure) को अवस्था दयनीय छँदाछँदै, प्रधानमन्त्री बन्ने दौडमा निस्कनु कति न्यायोचित हो ?
यो राजनीतिक चरित्र होइन, यो अवसरवाद हो। एउटा जहाजको क्याप्टेनले बीच समुद्रमा जहाज छोडेर ‘म अर्को ठूलो जहाज चलाउँछु’ भन्नु कति जिम्मेवारीपूर्ण हुन्छ ? यदि आज उहाँ मेयर पद बीचमै छोड्न सक्नुहुन्छ भने, भोलि प्रधानमन्त्री हुँदा कुनै ठूलो अन्तर्राष्ट्रिय संस्था वा अझ आकर्षक पद (वा शरण) पाउँदा देशलाई कुन हालतमा छोड्नुहोला ?
नेतृत्व भनेको परीक्षा हो। नेता पदासिन भएपछि उसको सफलता उसको भाषणले होइन, उसको ‘विकास बजेट खर्च अनुपात’ ले बताउँछ। सामाजिक सञ्जालमा आउने ‘लाइक’ र ‘सेयर’ ले माहोल फरक देखाउन सक्छ, तर धरातलमा काम गर्ने क्षमता अर्कै कुरा हो।
धेरै दलले आफ्नो विधान र निर्वाचन आयोगलाई ‘प्राइमरी’ (आन्तरिक निर्वाचन) गर्ने लिखत बुझाए। तर, व्यवहारमा टिकट खल्तीबाट बाँडे, आफ्नै विधानको धज्जी उडाए र अहिले ‘नयाँ’ को ट्याग भिरेर भोट माग्दैछन्। आफ्नै पार्टीको विधान नमान्नेले देशको संविधान मान्छन् भनेर कसरी पत्याउने ?
भावनाका फोका भर्सेस ‘प्रोजेक्ट गभर्नेन्स’
ग्रीक दार्शनिक प्लेटोले भनेका थिए, “राजनीतिको सजाय यो हो कि, यदि तिमीले असल मान्छेलाई नचुन्ने हो भने, तिमीमाथि खराब मान्छेले शासन गर्नेछ।”
अहिलेको लडाइँ भावना र विवेकबीचको हो। भावना भनेको पानीको फोका हो, जुन क्षणिक हुन्छ र फुट्छ। तर, शासन (Governance) भनेको चट्टान हो, जसलाई फोर्न ज्ञान, अनुभव र स्पष्ट योजना चाहिन्छ।
यहाँनेर एउटा फरक धार देखिन्छ। गभर्नेन्स भनेको के हो भनेर बुढ्यौली लागेका नेताहरूलाई पढाइरहनुपर्ने यो समयमा, केही युवा नेताहरू ‘प्रोजेक्ट गभर्नेन्स’ (Project Governance) मा काम गरिरहेका छन्।
नौ महिना स्वास्थ्यमन्त्री हुँदा गगन थापाले जे गरे, त्यो केवल एक मन्त्रीको काम थिएन, त्यो एउटा ‘बेन्चमार्क’ थियो। उहाँले प्रमाणित गर्नुभयो कि यदि इच्छाशक्ति र स्पष्ट योजना (Blue Print) छ भने, छोटो समयमा पनि परिवर्तन सम्भव छ।
काँग्रेसले अहिले एउटा साहसिक कदम चालेको छ। जसरी छेपारोले खाँबो समातेझैं पद ओगटेर बसेकाहरूलाई ‘रिङ आउट’ गर्दै नयाँ अनुहारलाई टिकट बाँडेको छ, त्यसका लागि गगन थापा र उहाँको टिमको ‘भिजन’ लाई मान्नैपर्छ। यो सहज थिएन। पार्टीभित्रको पुरातन सोचसँग लडेर, योग्यलाई स्थान दिनु चानचुने कुरा होइन।
विदेशी भूमिमा हेर्ने हो भने, जहाँ-जहाँ ‘पपुलिजम’ (लोकरिझ्याइँ) का आधारमा भोट हालियो, त्यहाँ-त्यहाँ पछि पछुताउनुपरेको छ। बेलायतको ‘ब्रेक्जिट’ होस् वा अन्य मुलुकका अतिवादी शासकहरू- भावनामा बगेर गरिएको निर्णयले दशकौंसम्म देशलाई पछाडि धकेल्छ। तर, जहाँ लि कुआन यु (सिंगापुर) जस्ता नेताले तथ्यांक, विज्ञान र कठोर अनुशासन (Governance) लाई आधार बनाए, त्यहाँ देशको कायापलट भयो।
अहिले नेपालमा पनि त्यस्तै ‘टेक्नोक्र्याटिक’ र ‘भिजनरी’ नेतृत्वको खाँचो छ। जो सामाजिक सञ्जालको होहल्लामा होइन, नीति निर्माणको बहसमा खरो उत्रिन्छ। जो अरूको आलोचना गरेर होइन, आफ्नो ‘प्रोजेक्ट’ देखाएर भोट माग्छ। जोसँग देश हाँक्ने ‘ब्लु–प्रिन्ट’ छ, केवल आवेग होइन।
फागुन २१ : बाँदरलाई लिस्नु नबनोस्
हामीले २०६३ सालमा प्रचण्डलाई बहुमत दिँदाको दिन सम्झनुपर्छ। त्यो बेला पनि भावनाको ज्वारभाटा थियो। मानिसहरूले सोचेका थिए- ‘यिनले जादु गर्नेछन्।’ तर, त्यो जादु भ्रम साबित भयो।
अहिले फेरि त्यस्तै भ्रमको खेती गरिँदैछ। एकातिर पुराना दलका पुराना नेताहरू छन्, जोसँग नयाँ केही छैन। अर्कोतिर ‘नयाँ’ भनिएकाहरू छन्, जोसँग अनुभव छैन, धैर्य छैन र विधि मान्ने संस्कार छैन। र, बीचमा एउटा यस्तो समूह छ- जोसँग अनुभव पनि छ, जोस पनि छ, र प्रमाणित भइसकेको ‘ट्रयाक रेकर्ड’ पनि छ।
गगन थापा र उहाँको टिमले अगाडि सारेको ‘प्रोजेक्ट गभर्नेन्स’ र ‘समुन्नत नेपाल’ को खाका कुनै हावाको महल होइन। यो तथ्यांकमा आधारित छ, यो धरातलमा उभिएको छ। उहाँहरूले अन्य देशका सफल मोडलहरूको अध्ययन गरेर, नेपालको माटो सुहाउँदो नीति बनाएका छन्।
उहाँहरू आगो लगाउने कुरा गर्दैनन्, आगो निभाउने र बस्ती बसाउने कुरा गर्छन्। उहाँहरू जेल तोड्ने कुरा गर्दैनन्, जेल नपर्ने समाज बनाउने कानुनको कुरा गर्छन्।
महाभारतको युद्धमा कृष्णले अर्जुनलाई भनेका थिए– “युद्ध केवल हतियारले जितिँदैन, पार्थ ! युद्ध सही समयमा सही निर्णयले जितिन्छ।”
आजको मतदाता अर्जुनको भूमिकामा छ। फागुन २१ गते हाम्रो हातमा रहेको मत केवल कागजको टुक्रा वा डिजिटल बटन होइन। यो हाम्रो र हाम्रो सन्ततिको भविष्यको फैसला हो।
यदि हामीले फेरि पनि चर्को स्वर, गालीगलौज र सतही नाराका पछि लागेर भोट हाल्यौं भने, त्यो हाम्रो विवेकको हार हुनेछ। यदि हामीले पदका लागि जिम्मेवारी छोड्ने, विधि मिच्ने र अराजकता फैलाउनेलाई अनुमोदन गर्यौं भने, देश दुर्घटनामा पर्नेछ।
त्यसैले, गम्भीर भएर सोचौं। ‘सोसल मिडिया’ को एल्गोरिदमले देखाएको सत्यभन्दा बाहिर निस्किएर हेरौं। कसले कति काम गर्यो ? कसको योजना कति व्यावहारिक छ ? कसले संसदमा जनजीविकाका सवालमा कति आवाज उठायो ? कसले ९ महिनामा आफूलाई सफल प्रमाणित गर्यो र कसले ३० वर्षमा पनि सकेन ?
तपाईंको एक मतले देशको दिशा बदल्न सक्छ। तर होसियार ! भावनामा बगेर, लहडमा लागेर वा ‘नयाँ’ को नाममा विवेक गुमाएर गरिएको मतदान कतै “बाँदरको हातमा लिस्नु” नबनोस्।
बाँदरलाई लिस्नु हालिदिएपछि ऊ न घरको धुरीमा बस्छ, न अरूलाई बस्न दिन्छ- उसले केवल भत्काउँछ। देश भत्काउनेलाई होइन, देश बनाउने ‘ब्लु-प्रिन्ट’ भएकालाई रोजौं। विवेक प्रयोग गरौं।
भोट इन होइन, भोट आउट
आज प्रश्न यो होइन कि को नयाँ हो।
प्रश्न यो हो-
-कोसँग कामको रेकर्ड छ ?
-कोसँग ब्लुप्रिन्ट छ ?
-कोसँग जिम्मेवारी बोध छ ?
-को पाँच वर्षको जनादेशलाई पाँच वर्ष नै मान्छ ?
लोकतन्त्रमा सबैभन्दा ठूलो शक्ति नारामा होइन, मतपत्रमा हुन्छ।
यसपटक मत भोट इन गर्न होइन-
असफलता, अवसरवाद र अराजकतालाई भोट आउट गर्न प्रयोग हुनुपर्छ ।















Facebook Comment