निर्वाचनले कांग्रेस–कम्युनिष्टलाई सबक सिकाउने मात्र होइन, प्रियतावादबाट पनि जोगाउने हो : पूर्ण बस्नेत

डिसी नेपाल
२५ माघ २०८२ ९:३५
48
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनले कांग्रेस–कम्युनिष्टलाई सबक सिकाउने मात्र नभई विचार बिहीन प्रियतावादबाट पनि राजनीतिलाई जोगाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक माहोल तथा चुनावी अभियानबारे टिप्पणी गर्दै बस्नेतले उक्त धारणा राखेका हुन् ।

बस्नेतले भने, ‘निर्वाचनको माहोल हेर्दा मतदाताले यसपटक कांग्रेस–कम्युनिष्टले गरेका राजनीतिक कर्मको फल पाउँछन् नै जस्तो छ तर त्यसको विकल्पमा मतदाता विचार विहीनता रोज्ने र प्रीयतावादमा फस्ने खतरा पनि देखिन्छ ।’

भूमि विधेयकका विरुद्धमा पार्टीले लिएको अडान निर्वाचनमा जसपा नेपाललाई भोट दिनुपर्ने मुख्य आधार भएको उनी बताउँछन् । ‘दलिय आँखाले हेर्दा यो तराई मधेशको समस्या जस्तो लाग्न सक्छ तर एक नागरिक भएर सोच्यो भने यो देशकै समस्या हो ,’ उनले भने ।
मधेश प्रदेश नामाकरणमा जसपा नेपालको भूमिकाले मधेश र मधेशीलाई स्वाभिमान, पहिचान र सम्मान दिएको उनको दाबी छ । उनले भने, ‘सबैको अधिकार र पहिचानका लागि जसपा नेपालले जित्न जरुरी छ ।’

संघीय मुलुक हुनुको श्रेय जसपा नेपाललाई जाने भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न मतदाताले जसपा नेपाललाई रोज्ने दाबी गरे । यो निर्वाचन जसपा नेपालले उठाएको संविधान संशोधनको माग सम्बोधन गर्ने मतदातालाई अवसर भएको उनको भनाइ छ । पार्टीले विगतमा सडक र सदनबाट गरेका थुप्रै जनपक्षीय काम र निर्णय नै जसपा नेपालले निर्वाचनमा मत पाउने स्पष्ट आधार भएको उनको भनाइ छ ।

जसपा नेपाल निर्वाचनबाट बलियो भयो भने उत्पीडित समुदायको अधिकारको आन्दोलन बलियो हुने उनको भनाइ छ । उनले आफ्नै लागि छान्ने जनप्रतिनिधिका छान्ने विषयमा मतदाता सचेत रहनुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.