मानव तस्करीको ट्रान्जिट बन्दै नेपाल, काठमाडौंमा ‘कैदी’ अवस्थामा भेटिए ५ जना विदेशी
काठमाडौं। वैदेशिक रोजगारीको सुनौलो सपना देखाएर काठमाडौंमै विदेशी नागरिकहरूलाई बन्धक बनाइ राखिएको घटना सार्वजनिक भयो। जेन-जी आन्दोलनपछि राजधानीमा चोरको बिगबिगी भएपनि मानव बन्धन बनाएको घटना सार्वजनिक भएको थिए।
काठमाडौंको शान्त मानिने बुढानीलकण्ठ नगरपालिका-८ भंगालस्थित एक घरभित्र ५ जना बंगालादेशी नागरिकहरूलाई नियन्त्रणमा राखिएको अवस्थामा प्रहरीले उद्धार गरेपछि यो घट्ना सार्वजनिक भएको हो। घटनामा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ। जसमा विदेशी र नेपाली नागरिक समेत छन्।
यो घटना मानव बेचबिखन, ठगी र संगठित अपराधको गम्भीर संकेतका रूपमा प्रहरीले लिएको छ। प्रारम्भिक अनुसन्धानले वैदेशिक रोजगारीका नाममा फसाइ विदेशी नागरिकलाई नेपालमै कैदजस्तै अवस्थामा राखेर रकम असुल्ने गिरोह सक्रिय रहेको देखाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बुढानीलकण्ठ क्षेत्रमा विदेशी नागरिकहरूलाई अवैध रूपमा रोकेर राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
प्रहरी टोली उक्त घरमा पुगेपछि कोठाभित्र सीमित स्थानमा राखिएका ५ जना बंगालादेशी नागरिकहरू फेला परेका थिए। उनीहरूको अवस्था सामान्य नरहेको र बाहिर जान दिइएको थिएन।
‘हामीले ५ जना बंगालादेशी नागरिकलाई बन्धक बनाइ राखिएको अवस्थामा उद्धार गर्याे’, एसपी भट्टराईले भने। प्रहरीले दिएको जानकारी अनुसार अनुसन्धान अनुसार ती बंगालादेशी नागरिकहरूलाई इटाली पठाइदिने आश्वासन दिइएको थियो।
दलालहरूले आकर्षक तलब, कानुनी कागजात र छिटो भिसा प्रक्रिया हुने भन्दै उनीहरूलाई नेपाल ल्याएका थिए। नेपाल आएपछि भने उनीहरूलाई स्वतन्त्र रूपमा हिँडडुल गर्न नदिई एउटा घरभित्र राखिएको थियो। उनीहरूबाट थप रकम मागिएको, परिवारसँग सम्पर्क सीमित गराइएको र दबाबमा राखिएको थियो।
उद्धार गरिएका व्यक्तिहरूले आफूहरूलाई वाचा अनुसार प्रक्रिया अगाडि नबढेको, उल्टै दबाब र डर देखाइ राखिएको बताएका छन्। स्थानीयका अनुसार उक्त घर सामान्य आवासीय जस्तो देखिन्थ्यो। बाहिरबाट शंकास्पद गतिविधि देखिँदैनथ्यो। तर भित्र विदेशी नागरिकहरू लामो समयदेखि बसेको स्थानीयले पछि मात्र थाहा पाएर प्रहरीलाई खबर गरेका थिए।
यी हुन् पक्राउ परेका बंगलादेशी नागरिक
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ३८ वर्षीय आल मामुन , ३९ वर्षीय बिलाल, २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हु, ४० वर्षीय यमडी मसिभुर रहमान, ४१ वर्षीय भारतीय नागरिक सरोज कुमार, नुवाकोट घर भएका ३२ वर्षीय नेपाली नागरिक सशि पाठक। प्रहरीका अनुसार, यी व्यक्तिहरूमध्ये केही स्वयं बंगलादेशी भए पनि उनीहरू गिरोहको सदस्यका रूपमा काम गरिरहेका छन्।
उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट शरीर बन्धक तथा ठगी सम्बन्धी कसुर अन्तर्गत थप ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ। अनुसन्धान मानव बेचबिखन तथा ओसारपसारको कोणबाट समेत अगाडि बढाइएको छ। यदि पीडितलाई नेपाल हुँदै तेस्रो मुलुक पठाउने अवैध प्रक्रिया पुष्टि भयो भने उनीहरुलाई शरीर बन्धकको र मानववेचविखनको मुद्दा जाने छ।
घटनामा बंगलादेशी, भारतीय र नेपाली नागरिकको संलग्नता देखिनुले यो सामान्य ठगीभन्दा ठूलो सञ्जालको हिस्सा हुन सक्ने आशंका उब्जिएको छ। मानव बेचबिखन विज्ञहरूका अनुसार दक्षिण एसियाली मुलुकहरूबाट युरोप पठाइदिने नाममा यस्ता गिरोह सक्रिय छन्।
नेपाल ट्रान्जिट रुटको रूपमा प्रयोग हुने जोखिम बढ्दो छ। एक सुरक्षा अधिकारी भन्छन्, ‘यो घटना नेपाललाई ट्रान्जिट बनाउँदै विदेशी नागरिकलाई फसाउने अन्तर्राष्ट्रिय गिरोहको संकेत हुन सक्छ। आकर्षक देश, राम्रो तलब र छिटो प्रोसेसिङ भन्ने झुटो आश्वासनले धेरैलाई जालमा पार्ने गरेको पाइन्छ। यस्ता गिरोहलेःफेक अफर लेटर, नक्कली भिसा आश्वासन, ट्राभल र प्रोसेसिङ शुल्क जस्ता बहानामा लाखौं रुपैयाँ असुल्ने गर्छन्।’
एसपी भट्टराईका अनुसार, पीडितको विस्तृत अनुसन्धान लिइँदैछ। रकम लेनदेनको ट्र्याकिङ भइरहेको छ, अन्तर्राष्ट्रिय समन्वयको सम्भावना छ, शरीर बन्धक र ठगी प्रमाणित भएमा वर्षौं कैद सजाय हुन सक्छ।







डिसी नेपाल






Facebook Comment