१० अर्बको सुनसहित चोर कहाँ हराए ? ५० करोड खर्च गरेर प्रहरीको हात रित्तै

डिसी नेपाल
२५ माघ २०८२ १४:४७
1.1k
Shares

काठमाडौं । क्यानडाको पियर्सन विमानस्थलमा तीन वर्षअघि भएको इतिहासकै ठूलो सुन चोरी प्रकरणको मास्टरमाइन्ड अर्सलान चौधरी अखेर पक्राउ परेका छन्। पाकिस्तानी मूलका चौधरीलाई दुबईबाट आएको विमान अवतरण भएपछि खैरो हुडी लगाएको अवस्थामा देखेर प्रहरीले नियन्त्रणमा लिएको हो।

चौधरीको गिरफ्तारीले २०२३ अप्रिलमा भएको ४०० किलो सुन चोरी प्रकरणमा क्यानडाली प्रहरीले ठूलो सफलता हासिल गरेको छ। चोरी गरिएको सुनको मूल्य त्यतिबेला करिब २० मिलियन क्यानेडियन डलर अनुमान गरिएको थियो । नेपाली बजारको अहिलेको मूल्यअनुसार हिसाब गर्ने हो भने यसको मूल्य १० अर्ब रूपैयाँ पर्छ ।

चोरी कसरी भयो ?

१८ अप्रिल २०२३ मा दिउँसो २ बजे टोरन्टोको पियर्सन विमानस्थलको गोदामबाट एउटा कन्टेनर हराएको सूचना प्रहरीले पाए। उक्त कन्टेनरमा २४ क्यारेट सुनका ६,००० बिस्कुट थिए जसको मूल्य करिब २० मिलियन क्यानेडियन डलर थियो। यसमा २.७ मिलियन क्यानेडियन डलर बराबरको नगद पनि थियो ।

यो सुन र नगद स्विट्जरल्यान्डको ज्युरिखबाट आएको विमानमार्फत ल्याइएको थियो। सुन टोरन्टोको बैंकका लागि र नगद भ्यानकुभरको मनी एक्सचेन्ज सेन्टरका लागि थियो।

चोरहरूले नक्कली समुद्री खाद्य पदार्थको बिल देखाएर गोदाममा प्रवेश गरेका थिए। उनीहरूले सुन र नगद भएको कन्टेनर ट्रकमा राखेर ६:०३ बजे विमानस्थल छाडेका थिए।

प्रारम्भिक अनुसन्धानमा भारतीय मूलका विमानस्थल अधिकारी सिमरन प्रीतलाई प्रहरीको सहयोगीका रूपमा नियुक्त गरिएको थियो। तर अनुसन्धानकै क्रममा उनले अचानक राजीनामा दिएर भारतको चण्डीगढ पुगेको तथ्य बाहिर आयो।

पील क्षेत्रीय प्रहरीले नौ जनालाई अभियुक्तको रूपमा नाम दिएको छ। तीमध्ये पाँच जना भारतीय मूलका छन्। सिमरन प्रीत दोस्रो प्रमुख अभियुक्त मानिएका छन्। उनले कन्टेनरको अनलाइन ट्र्याकिङ गरेका थिए र ट्रक चालकलाई विमानस्थल प्रवेश गराएका थिए।

चोरीपछि सुन मिसिसागा नजिकैको सुरक्षित घरमा राखिएको थियो। त्यहाँबाट सुन क्रमशः पगालेर क्यानडामै बेचिएको थियो। केही सुन र नगद दुबई तथा भारतमा हवाला नेटवर्कमार्फत पठाइएको थियो।

अनुसन्धानमा प्रहरीले १.५ लाख क्यानाडियन डलर, १२ मोबाइल फोन, १० हजार दिराम र नगद वितरणका रेकर्डसहितका स्लिपहरू बरामद गरेका थिए।

चोरीमा संलग्न नौ जनामध्ये आठ जनालाई पक्राउ गरिएको छ। तीमध्ये भारतीय मूलका सिमरन प्रीत अझै फरार छन्। अन्य भारतीय अभियुक्तहरूमा अर्चित ग्रोभर, प्रसाद परामलिङ्गम, परम्पल सिद्धु र अमित जलोटा रहेका छन्।

पाकिस्तानी मूलका अर्सलान चौधरी र अली रजा पनि पक्राउ परेका छन्। अली रजाले चोरी गरिएको सुनबाट करिब ५५ लाख रुपैयाँ बराबरका सुनका बाला बनाएको आरोप छ।

क्यानडाली प्रहरीले “प्रोजेक्ट २४ के” नामक अपरेशनमार्फत तीन वर्षसम्म अनुसन्धान गर्‍यो। करिब ५० करोड रुपैयाँ खर्च गरेर मास्टरमाइन्ड अर्सलान चौधरीलाई पक्राउ गरियो।

तर चोरी गरिएको सुन अझैसम्म फिर्ता भएको छैन। अभियुक्तहरूले अपराध स्वीकार नगरेकाले सुन बरामद गर्न कठिन भएको प्रहरीले जनाएको छ।

चोरीमा संलग्न आठ जनालाई पक्राउ गरिए पनि भारतीय मूलका सिमरन प्रीत अझै फरार छन्। उनी हाल भारतमा संगीत निर्माता बनेर बसिरहेको बताइएको छ।

यसरी, क्यानडाको इतिहासकै ठूलो सुन चोरी प्रकरण अझै अधुरो छ। मास्टरमाइन्ड पक्राउ परे पनि चोरी गरिएको सुनको मुख्य अंश अझैसम्म रहस्यमय बनेको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.