गौरमा क्रिकेटको महाकुम्भ : फागुन १ देखि ‘जीपिएल’ को तेस्रो संस्करण सुरु हुँदै
रौतहट। रौतहटको सदरमुकाम गौरमा क्रिकेटको रौनक फेरि फर्कने भएको छ।
जिल्लाकै सर्वाधिक प्रतिक्षित र चर्चित क्रिकेट प्रतियोगिता ‘गौरीशंकर यादव प्रिमियर लिग (जीपिएल)’ को तेस्रो संस्करण आगामी फागुन १ गतेदेखि सुरु हुने तय भएको छ।
खेलकुदको माध्यमबाट युवाहरूलाई जोड्ने र स्थानीय प्रतिभालाई प्रस्फुटन गराउने लक्ष्यका साथ आयोजना हुन लागेको यस प्रतियोगिताले अहिले गौरबासीमा उत्साह थपेको छ।
यस पटकको संस्करणमा गौर नगरपालिकाका विभिन्न टोल तथा क्षेत्रको प्रतिनिधित्व गर्ने नौं वटा टिमहरू मैदानमा उत्रिनेछन्। गौरको पहिचानसँग जोडिएको यस लिगमा सहभागी हुने टिमहरूले उपाधिका लागि कडा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन्। प्रतियोगिताका सबै खेलहरू गौरस्थित राइस मिल खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ।
गौरी शंकर यादव फाउन्डेसनको आयोजना र रौतहट जिल्ला क्रिकेट संघको प्राविधिक सहकार्यमा हुन लागेको यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।
फाउन्डेसनका अध्यक्ष मोहन यादवका अनुसार अघिल्ला दुई संस्करणको सफलता र लोकप्रियतालाई मध्यनजर गर्दै यस पटकको जीपिएललाई अझ बढी व्यवस्थित, भव्य र प्रतिस्पर्धात्मक बनाउन कुनै कसर बाँकी राखिएको छैन।
अध्यक्ष यादवले भने, ‘हाम्रो मुख्य उद्देश्य भनेकै स्थानीय स्तरमा लुकेर रहेका क्रिकेट प्रतिभाहरूलाई उचित मञ्च प्रदान गर्नु हो। जीपिएलले गौरमा क्रिकेटको विकास मात्र नगरी युवाहरूलाई अनुशासित र खेलतर्फ आकर्षित गर्न ठूलो भूमिका खेल्दै आएको छ।’
लामो समयको प्रतीक्षापछि जीपिएल फर्कन लागेकाले गौरका क्रिकेटप्रेमीहरू निकै उत्साहित छन्। स्थानीय खेलाडीहरूका लागि यो प्रतियोगिता आफ्नो सीप प्रदर्शन गर्ने र राष्ट्रिय स्तरको सपना बुन्ने एउटा महत्वपूर्ण अवसर बनेको छ। अघिल्ला संस्करणहरूमा जस्तै यस पटक पनि राइस मिल मैदानमा दर्शकहरूको निकै बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।
प्रतियोगिताले गौरको पहिचानलाई खेलकुदको माध्यमबाट अगाडि बढाउन मद्दत गर्ने विश्वास लिइएको छ। रौतहट जिल्ला क्रिकेट संघले पनि यस प्रतियोगितालाई जिल्लाको क्रिकेट क्यालेन्डरकै एउटा महत्वपूर्ण हिस्साको रूपमा हेरेको छ।
प्रतियोगिता अवधिभर गौरमा खेलकुदमय वातावरण सिर्जना हुने र यसले स्थानीय व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने देखिन्छ।
आगामी फागुन १ गते भव्य उद्घाटन समारोहका बीच सुरु हुने यस प्रतियोगिताले गौरको खेल इतिहासमा अर्को नयाँ इँटा थप्ने निश्चित छ।














Facebook Comment