पुरानालाई नयाँको चुनौती, यस्तो छ जुम्लाको चुनावी गणित
जुम्ला। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै जुम्लामा चुनावी गतिविधि गर्माएको छ। उम्मेदवारहरु जुम्लामा प्रवेश गरेदेखि स्थानीय पनि चुनावी माहोलमा होमिएका छन्।
नयाँदेखि पुराना दलसम्मका अथवा राजनीतिमा खारिएकादेखि भर्खर उदाएकाहरूबीच चुनावी भिडन्त हुन लागेकाले चासो बढेको छ। एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ एक स्वतन्त्रसहित नौ वटा विभिन्न राजनीतिकदलका उम्मेदवार चुनावी प्रतिस्पर्धीमा रहेका छन्।
यस क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही, नेपाली कांग्रेसका दीपबहादुर शाही, नेकपा (एमाले)का शान्तिलाल महत, राष्ट्रिय स्वतन्त्र पार्टीका विनिता कठायत र प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल, नेपाल मजदुर किसान पार्टीका विर्षबहादुर रावत, नेपाल जनता पार्टीका रनिल विक्रम शाही, नेकपा (माओवादी) बाट बिर्खबहादुर शाही र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावल उम्मेदवार छन्।
उम्मेदवारहरू आफ्नो एजेन्डासहित मतदाताको घरदैलोमा पुगेपछि सुनसान हुने गाउँबस्तीदेखि सदरमुकाम खलङ्गा बजारका सार्वजनिकस्थल र चिया पसलमा चुनावी बहस तीव्र हुने थालेको छ। विसं २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही विजयी भएका थिए।
सामान्यतया जुम्लाका मतदाताहरूले स्वविवेकका आधारमा प्रत्येक निर्वाचनमा मत परिवर्तन गरिरहेको पनि पाइन्छ। यहाँका कतिपय निर्वाचन क्षेत्रमा चुनावैपिच्छे फरक दल र उम्मेदवारलाई निर्वाचित गराउने गरेका छन्।
यस्तो छ चुनावी गणित
जुम्लामा २०६४ को संविधानसभाको निर्वाचनमा नेकपा (माओवादी)बाट नरेश भण्डारी अत्यधिक मतले विजयी भएका थिए। विसं २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका ललितजंग शाही विजयी भएका थिए। विसं २०७४ मा भएको निर्वाचनमा माओवादी र एमालेलगायत अरु पार्टीसँग गठबन्धन हुँदा माओवादीबाट पुनःगजेन्द्र महत विजयी भएका थिए।
विसं २०७९ को निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)सहितका दलको गठबन्धन भएको थियो। तत्कालीन समयमा राप्रपाका शाहीले २२ हजार ८१९ मत ल्याएका थिए।
समानुपातिकतर्फको मत परिमाण
विसं २०७९ को आमनिर्वाचनमा सामानुपातिकतर्फको सबैभन्दा बढी नेकपा एमाले १० हजार ५४८ मत ल्याएको छ। कांग्रेसले १० हजार ४७३ मत ल्याउँदा माओवादी (नेकपा) ले आठ हजार ९६० र राप्रपाले पाँच हजार ७९६ मत लिएको छ। विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा आठ वटा स्थानीय तहमध्ये छ वटामा कांग्रेस र दुई वटामा माओवादीले जितेको थियो।
निर्वाचनका लागि जिल्लामा कूल जम्मा मतदाता सङ्ख्या ७१ हजार ७३९ जना छन्। जसमा महिला ३४ हजार २८० जना र पुरुष ३७ हजार ४५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए।
एक नगरपालिकासहित सात गाउँपालिका रहेको जिल्लामा ८५ मतदानस्थल र ११० मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ।
निर्वाचन नजिकिँदै जाँदा जुम्लामा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। ठूला दलदेखि साना दल र स्वतन्त्र उम्मेदवारसम्म मत माग्न घरदैलोमा सक्रिय बनेका छन्। मतदाताको समर्थन जुटाउन घरदैलो, आन्तरिक छलफल, भेला तथा समन्वय बैठकहरू तीव्र रूपमा सञ्चालन भइरहेका छन्।
यस्तै, नेकपा एमालेले आफ्नो उम्मेदवारलाई जिताउन संगठनात्मक गतिविधि तीव्र पारेको छ। वडास्तरदेखि टोलस्तरसम्म छलफल, भेला र बैठकहरू भइरहेका छन्। पार्टीले निर्वाचन परिचालन कमिटी गठन गरी प्रचारप्रसारलाई तीव्र बनाएको नेकपा एमाले जुम्लाले जनाएको छ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पनि निर्वाचन लक्षित गतिविधि बढाउँदै लगेको छ। मतदाता भेटघाट, पार्टीको आन्तरिक भेला, जनवर्गीय संगठनका बैठक तथा प्रशिक्षण कार्यक्रमलगायत गतिविधि गरेको छ।
निर्वाचनका लागि एक हजार ९९९ जना निर्वाचन परिचालन समिति गठन गरिएको निर्वाचन परिचालन समितिका संयोजक तथा नेकपाका केन्द्रीय सदस्य गोमा गौतमले बताइन्।







डिसी नेपाल






Facebook Comment