तीन तहका सरकारले समन्वय र सहकार्य आधारमा कार्य गर्नुपर्छः मुख्यमन्त्री कार्की
मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान व्यवस्था गरेअनुसार तीन तहका सरकारले समन्वय सहकार्य र सहअस्तित्वका आधारमा काम गर्नुपर्ने बताएका छन्।
विराटनगरमा आज आयोजित प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले स्थानीय तह र प्रदेशबाट ९९ प्रतिशत काम सकेर सङ्घीय सरकारमा पठाउँदा पनि कतिपय विषय अगाडि नबढेको बताए।
मुख्यमन्त्री कार्कीले भने, “समन्वय सहकार्य र सहअस्तित्वको आधारमा तीनै तहका सरकार सञ्चालन हुने संविधानले व्यवस्था गरे पनि सोअनुसार भइरहेको छैन। यसले प्रदेश सरकारले राम्रोसँग काम गर्न सकेको छैन।”
मुख्यमन्त्री कार्कीले प्रदेशमा देखिएका समस्या प्रदेशमै समस्या समाधान गर्नुपर्ने र सङ्घको समन्वयमा गर्नुपर्ने काम सङ्घसँगको सहकार्यमा गर्नपर्नेमा जोड दिए।
बैठकमा कोशी प्रदेशको सार्वजनिक खर्च मापदण्ड र मितव्ययिता निर्देशिकाले काम गर्न अप्ठ्यारो भएको विषयमा पनि छलफल भएको थियो।
राजस्व सङ्कलन र राजस्व दायरालाई बढाउने, कानुन, कार्यविधि निर्माण गर्ने, समपूरक बजेटबाट आउने आयोजनालाई व्यवस्थित रूपले सञ्चालन गर्नुपर्ने र बेरुजु घटाउनेलगायत विषयमा पनि छलफल भएको प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले जानकारी दिए।
बहुवर्षीय आयोजनाहरूको दायित्व र यसले भविष्यमा पार्ने विषयका साथै सानासाना आयोजना कार्यान्वयनमा देखापरेका समस्या, प्रदेश सरकार मातहत रहेको यातायातको अधिकार खुम्च्याउने र कृषि आयकरलगायत प्रदेशका क्षेत्राधिकारमा केन्द्र सरकारले ध्यान नदिएको विषयमा भए पनि कुरा भएको उनले बताए।
बैठकले हाल देखिएका समस्यालाई फागुनभित्रै समाधान गर्ने गरी अगाडि बढाउन आवश्यक तयारी गर्ने निर्णय गरेको छ। बैठकका विषयलाई सङ्घ सरकारसँग समन्वय गर्ने र प्रदेशले गर्नुपर्ने काम पनि तत्कालै गर्ने निर्णग गरिएको प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेलले जानकारी दिए।







डिसी नेपाल






Facebook Comment