अस्ट्रेलियामा अनियन्त्रित कार घर भत्काउँदै भित्र पस्यो, सुतिरहेकी नेपालीको मृत्यु
काठमाडौं । अस्ट्रेलियामा अनियन्त्रित कार घरभित्र पस्दा घरमा सुतिरहेको नेपाली महिलाको ज्यान गएको छ । शुक्रबार राति छोरीको घरमा सुतिरहेकी विष्णुकुमारी गुरुङको दुर्घटनामा मृत्यु भएको हो । परिवारका अनुसार उनी ३ दिन अघि मात्र नेपालबाट अस्ट्रेलिया पुगेकी थिइन् ।
मृतक नेपाली महिला ५३ वर्षीया विष्णु कुमारी गुरुङलाई हिमाली नामले पनि चिनिन्थ्यो । उनी नेपालबाट पर्थ पुगेको तीन दिनमै रिभरभेलस्थित युनिटमा सुतिरहेको बेला कार ठोक्किँदा ज्यान गुमाइन्। पुलिसका अनुसार पहेँलो रंगको फोर्ड फल्कन सेडान एलेक्जान्डर रोडमा गुडिरहेको बेला सडक छाडेर राति करिब ११:४० बजे घरमा ठोक्किएको थियो। गुरुङको घटनास्थलमै मृत्यु भएको थियो।
आइतबार दिउँसो उनकी छोरी निशाले सञ्चारमाध्यमलाई आफू अझै डरलाग्दो घटनाको सम्झनासँग जुधिरहेको बताइन्। उनले भनिन्, “उहाँ सुरक्षित स्थान ओछ्यानमा सुतिरहनुभएको थियो । हामीसँग सम्झना र माया बाँड्न यहाँ आउनुभएको थियो ।” निशाले आमा मंगलबार मात्र पर्थ आइपुगेको र नातिसँग समय बिताउन चाहेको बताइन्। उनले न्यायको आशा व्यक्त गरिन्।
परिवारले अन्त्येष्टि खर्च तथा नेपालबाट आफन्त ल्याउन सहयोग जुटाउने उद्देश्यले अनलाइनमार्फत चन्दा संकलन सुरु गरेका छन्। चन्दासँगै प्रकाशित सन्देशमा भनिएको छ: “हाम्रो आमा असाधारण महिला हुनुहुन्थ्यो । जीवन्त, दयालु, आत्मीय र निःस्वार्थ माया गर्ने। उहाँले सधैं अरूलाई प्राथमिकता दिनुभयो र करुणा तथा उदारतासहित जीवन बिताउनुभयो। उहाँ हाम्रो परिवारको आत्मा, शक्ति, सान्त्वना र हास्यको स्रोत हुनुहुन्थ्यो। अचानक भएको निधनले हाम्रो जीवनमा शब्दले व्यक्त गर्न नसक्ने खालीपन ल्याएको छ।”
शनिबार दिउँसो प्रहरीले ३६ वर्षीय राइस हकिङ्सलाई ‘म्यानस्लाटर’ (हत्या सरहको अपराध) र सम्पत्ति क्षतिको अभियोगमा पक्राउ गरी मुद्दा दर्ता गरेको छ। आइतबार अदालतमा पेश गरिएका हकिङ्सलाई हिरासतमा राखिएको छ। उनलाई फेब्रुअरी १८ मा पुनः अदालतमा उपस्थित गराइनेछ।
छिमेकी अली कुरिम्भोईले ठोक्किएको आवाज सुन्दा “विमान छतमा खसेको” जस्तो लागेको बताए। “ठूलो आवाजले निद्रा खुल्यो। केही मिनेटमै पुलिस र एम्बुलेन्स आइपुग्यो, यहाँ निकै अव्यवस्थित अवस्था थियो,” उनले भने।
पर्थमा घरमा कार ठोक्किने घटना असामान्य होइन तर घरभित्रै रहेका मानिसको मृत्यु हुने घटना भने दुर्लभ मानिन्छ। सन् २०११ मा मदिरा सेवन गरेर गाडी चलाएको एक किशोर चालकले ‘सेफ्टी बे’ क्षेत्रमा घरमा ठोक्किँदा भित्र रहेका एक पुरुषको मृत्यु भएको थियो।







डिसी नेपाल






Facebook Comment