गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

डिसी नेपाल
२७ माघ २०८२ १६:३७
24
Shares

गण्डकी। गण्डकी प्रदेशमा यस वर्ष २१ हजार १३४ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ। पोखरास्थित प्रादेशिक जनस्वास्थ्य केन्द्रका अनुसार सबैभन्दा धेरै कास्कीमा पाँच हजार ६४९, नवलपुरमा तीन हजार ५८५ र तनहुँमा दुई हजार ६२५ जना किशोरीलाई उक्त खोप प्रदान गरिने भएको हो।

यस्तै बागलुङमा दुई हजार ३०२, गोरखामा एक हजार ८८०, स्याङ्जामा एक हजार ७८९, लमजुङमा एक हजार २५८, पर्वतमा ९५०, म्याग्दीमा ९२६, मुस्ताङमा १४७ र मनाङमा २६ जनालाई ‘एचपिभी’ खोप लगाइने प्रादेशिक जनस्वास्थ्य केन्द्रका खोप अधिकृत एकनारायण लम्सालले जानकारी दिए।

कक्षा ६ मा अध्ययनरत २० हजार ५५९, १० वर्ष उमेरका विद्यालयबाहिर रहेका १९१, गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्मका ३२७ र गत वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्षसम्मका २० किशोरीलाई यस वर्ष खोप दिइने भएको हो। गत वर्ष गण्डकीमा १० देखि १४ वर्ष उमेर समूहका सवा लाख बढी किशोरीलाई खोप लगाइएको थियो।

‘एचपिभी’ खोपलाई यस वर्षदेखि नियमित खोप कार्यक्रममा समावेश गरी कक्षा ६ मा अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई खोप लगाउन सुरु गरिएको खोप अधिकृत लम्सालले बताए। प्रदेशका केही जिल्लामा ‘एचपिभी’ खोप अभियान सुरु भइसकेको र केही जिल्लामा अभियान सञ्चालनको तयारी भइरहेको जनाइएको छ। हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा भने आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि खोप लगाइने प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ।

एक हजार ८४० विद्यालय र ८६० सामुदायिक खोप केन्द्र गरी कुल दुई हजार ७०० खोप केन्द्रबाट खोप सेवा सञ्चालन गरिने भएको छ। खोप अभियानका लागि एक हजार ७८७ स्वास्थ्यकर्मी र एक हजार ८६६ जना स्वयंसेवक परिचालन हुने बताइएको छ।

पाठेघरको मुखको क्यान्सर हुनबाट किशोरीहरुलाई सुरक्षित गर्ने लक्ष्यसहित देशव्यापी रुपमा ‘एचपिभी’ खोप अभियान सञ्चालन भइरहेको हो। नेपालमा पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुनेको सङ्ख्या हरेक वर्ष उच्च रहेकाले उक्त रोग निवारणमा खोप अभियानले योगदान पु¥याउने खोप अधिकृत लम्सालले बताए।

‘एचपिभी’ खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई ९८ प्रतिशतले घटाउने उनको भनाइ छ। उनका अनुसार पाठेघरको मुखको क्यान्सर नेपालमा महिलालाई सबैभन्दा बढी लाग्ने क्यान्सरको दोस्रो स्थानमा पर्छ। क्यान्सरको कारणबाट महिलाहरुको मृत्यु हुनेमा भने पहिलो मुख्य कारण पाठघरको क्यान्सर रहेको छ।

‘ह्युमन प्यापिलोमा’ भाइरसबाट सङ्क्रमित व्यक्तिको यौनाङ्गको छाला, ‘म्युकस मेम्ब्रेन’ यौनाङ्गबाट निस्कने तरल पदार्थसँगको सम्पर्कबाट यो रोग सर्ने चिकित्सकहरु बताउँछन्। मानव शरीरमा क्यान्सर गराउने उच्च जोखिम भएका ‘एचपिभी’ भाइरसको पटकपटक सङ्क्रमण भएर २० वर्षसम्म रहिरहेमा पाठेघरको मुखको क्यान्सर हुने गरेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.