निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

डिसी नेपाल
२८ माघ २०८२ १९:४२
44
Shares

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै सरोकारवालासँग समन्वय गरी आसन्न निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न निर्देशन दिएका छन्।

जङ्गी अड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठकको समापन सत्रलाई आज सम्बोधन गर्दै उहाँले एकीकृत सुरक्षा योजना–२०८२ अनुसार समन्वयात्मकरूपमा निर्वाचनमा परिचालित हुन निर्देशन दिए।

प्रधान सेनापति सिग्देलले सकलदर्जाको सामूहिक भावना र एकढिक्कापनलाई कायम राख्दै जिम्मेवारीमा खटिइन निर्देश गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उनले पृतनास्तरमा भएको प्रभावकारी कार्यका लागि पृतनापतिलाई धन्यवादसमेत दिए।

बैठकमा वर्तमान परिस्थितिको विश्लेषण, तालिमहरूको समीक्षा, बन्दोबस्ती पक्षलगायत समसामयिक विषयमा छलफल भएको निर्देशनालयले जनाएको छ। बैठकको समापन कार्यक्रममा बलाधिकृत, रथीवृन्दलगायत अधिकृतको उपस्थिति थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.