स्थलगत रिर्पोटिङ

झापा-५ चुनावी इपीसेन्टरमा : ओलीप्रति भरोसा, बालेनप्रति युवाको क्रेज

डिसी नेपाल
२९ माघ २०८२ ९:२४
908
Shares

काठमाडौं। अहिले देशभर चुनावको सरगर्मी बढेको छ। जेनजी आन्दोलनपछि पुराना दलहरु प्रति नेपाली जनताहरुको आक्रोस बढेको छ । सोही कारण देशैभर रास्वपा लगायत नयाँ दलहरुप्रतिको जनलहर व्यापक रुपमा बढेको देखिएको छ।

यद्यपि, पुराना प्रमुख राजनीतिक दलहरू एमाले, कांग्रेस र माओवादी केन्द्र सत्ता हात पार्ने लक्ष्यसहित गाउँघरमा घरदैलो कार्यक्रममा सक्रिय देखिएका छन्। यसैबीच, झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ यतिबेला चुनावी इपीसेन्टरका रुपमा चर्चाको शिखरमा रहेको छ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह यही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिएपछि झापा ५ ले सबैको ध्यान केन्द्रित गरेको हो।

झापा जिल्लाको गौरीगन्ज गाउँपालिका, कमल गाउँपालिका र गौरादहका विभिन्न स्थानमा गरेको स्थलगत रिर्पोटिङका क्रममा त्यहाँका केही मतदाता कसलाई मतदान गर्ने भन्नेमा अन्योल देखिए पनि अधिकांश स्थानीय बासिन्दाले भने पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति भरोसा व्यक्त गरेको पाइएको छ।

स्थानियहरूले ओलीलाई विकासवादी नेताका रूपमा चिन्ने बताएका छन्। उनीहरुकाअनुसार झापा-५ मा सडक, शिक्षा, स्वास्थ्य, विद्युत् तथा यातायातजस्ता आधारभूत पूर्वाधारको विकासमा केपी शर्मा ओलीको महत्वपूर्ण योगदान रहेको छ।

एक कार्यक्रममा बोल्दै स्थानीय बासिन्दा रीता देवी गिरीले केपी शर्मा ओलीले झापालाई “एक युगबाट अर्को युगमा पुर्‍याएको” बताइन्। उनले यातायात सुविधामा आएको परिवर्तन उदाहरण दिँदै भनिन्, “पहिला विराटनगर जान पाँच सय रुपैयाँसम्म खर्चिनुपथ्र्यो, अहिले ५० रुपैयाँमै जान सकिन्छ ।” उनले सेवा सुविधा विस्तारमा ओलीको भूमिका स्मरण गर्दै अनुभवी र आफ्नै क्षेत्र बुझ्ने नेताको आवश्यकता औँल्याइन्।

त्यस्तै, अर्का स्थानीय सुधिर कुमार शाह केपी शर्मा ओलीको जितप्रति ढुक्क देखिन्छन्। उनले भने, “आँधीहुरी जस्तो कुरा क्षणिक हुन्छ, तर स्थायी काम गर्ने नेताको मूल्य समयसँगै देखिन्छ।” उनका अनुसार ओलीले तीन कार्यकालमा धेरै महत्वपूर्ण काम गरेका छन्, यद्यपि कहिलेकाहीँ कमजोरी हुनसक्ने उनले स्वीकार गरे।

मतदाता आनन्दी ठाकुर पनि केपी शर्मा ओलीप्रति आफ्नो विश्वास अटुट रहेको बताउँछिन्। “भोट हाल्न सुरु गरेदेखि नै मैले सूर्य चिन्हमै मतदान गर्दै आएकी छु,” उनले भनिन्। युवापुस्ताको आगमन सकारात्मक भए पनि अनुभवी र सिकिसकेको नेतृत्वलाई निरन्तरता दिनु विकासका लागि आवश्यक रहेको उनको धारणा छ।

केपी शर्मा ओली स्वयंले पनि जनतासँग संवाद गर्दै शिक्षा र सामाजिक विकासलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। उनले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्दै, “छोराछोरीलाई पढायौँ भने गरिबी आफैं हटेर जान्छ,” भन्ने धारणा व्यक्त गरे । सामान्य तर निरन्तर प्रयासबाट देश विकासको बलियो जग बसाल्न सकिने उनले बताए।

ओलीले अफवाह र हल्लाको पछि नलाग्न आग्रह गर्दै, “हामी आफैं राम्रो संगत गरौँ, आफैं राम्रो काम गरौँ,” भन्दै जनतालाई सचेत गराएका छन्। झापा-५ मा देखिएको जनसमर्थन र स्थानीयको अनुभूति हेर्दा, केपी शर्मा ओलीलाई अनुभवी, विकासमुखी र भरोसायोग्य नेताका रूपमा लिने मतदाताको संख्या उल्लेख्य देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.