काठमाडौं । नेपाली कांग्रेसले देशलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने दृढ संकल्पमा अघि बढिरहेको बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस सधैं विचार, विवेक र प्रतिबद्धताको संगम भएको लोकतान्त्रिक पार्टी समेत रहेको बताएको हो ।

‘बदलिएको समय, रुपान्तरित राजनीतिक चेतना र नयाँ नेतृत्वको स्पष्ट दृष्टि हित नेपाली कांग्रेस आज देशलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने दृढ संकल्पमा अघि बढिरहेको छ’, विज्ञप्ति उल्लेख गरिएको छ ।

पार्टीका सभापति गगनकुमार थापाको नेतृत्वमा कांग्रेसले संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेको प्रवक्ता एवं केन्द्रीय प्रचार प्रसार समितिका संयोजक देवराज चालिसेले जानकारी दिएका छन् ।

‘नेपाली कांग्रेस सधैं विचार, विवेक र प्रतिबद्धताको संगम भएको लोकतान्त्रिक मंच हो । यहाँ व्यक्तिको क्षमताभन्दा संस्थागत मूल्यलाई प्राथमिकता दिइन्छ’ विज्ञप्तिमा लेखिएको छ, ‘पारदर्शिता, जवाफदेहिता र नीतिमा आधारित राजनीतिलाई अवलम्बन गरिन्छ । देश र लोकतन्त्रको सुदृढीकरणका लागि नयाँ सोच, नवीन ऊर्जा र अनुभवी व्यक्तित्वहरूको सहभागिता अपरिहार्य छ भन्ने हाम्रो ठोस विश्वास छ ।’

कांग्रेसले वैकल्पिक शक्ति निर्माणमा विश्वास राख्ने, समाजका विभिन्न प्रतिष्ठित पेशा-चिकित्सा, शिक्षा, कानून, उद्योग, सूचना–प्रविधि, कृषि, श्रम तथा नागरिक समाजका क्षेत्रमा सक्रिय भई राजनीतिक पृष्ठभूमिसँग जोडिएर समाज रूपान्तरणमा योगदान गर्न इच्छुकलाई कांग्रेसमा आबद्ध हुन समेत आह्वान गरेको छ ।