प्रतिनिधिसभा निर्वाचन

काठमाडौं-२ : नयाँ र पुराना अनुहार, एजेन्डा समान

डिसी नेपाल
१ फागुन २०८२ ९:४७
836
Shares

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी चहलपहल बढेको छ।

औपचारिक प्रचारप्रसार यही फागुन ४ गतेदेखि सुरु हुने भएता पनि उम्मेदवारहरू घरदैलो, टोलसभा र अन्तरक्रियाका माध्यमबाट मतदातामाझ पुगिरहेका छन्।

यो निर्वाचन क्षेत्रमा २८ जना उम्मेदवार छन्। राजनीतिक दलका १६ र १२ जना स्वतन्त्र छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट मणिराम फुयाँल, नेपाली कांग्रेसबाट कवीर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुनिल केसी, श्रम संस्कृति पार्टीका मुकुन्द कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कुन्तीदेवी पोखरेल छन्। यहाँ २२ जना पुरुष र ६ जना महिला छन्। दलबाट तीन र तीन जना महिला स्वतन्त्र उम्मेदवार छन्।

यो क्षेत्रमा पुराना राजनीतिक दल र तिनका उम्मेदवारको नयाँ पार्टीका प्रत्याशीबीच प्रतिस्पर्धा हुने भएको छ। यो निर्वाचनलाई आफूहरुले केवल दलगत प्रतिस्पर्धा मात्र नभई विश्वासको परीक्षाका रुपमा लिएको उम्मेदवारहरुले बताएका छन्।

अधिकांश उम्मेदवारका ‘एजेन्डा’ रोजगारी, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र भ्रष्टाचार नियन्त्रण छन्। उनीहरुले कानुन निर्माणभन्दा पनि मतदाताका दैनिकीसँग जोडिएका समस्या सम्बोधनको वाचा गरिरहेका छन्।

कोटेश्वरको ट्राफिक जाम, खानेपानी समस्या, मनोहरा कोरिडोर व्यवस्थापन र रोजगारीका अवसर सृजनालाई प्रायः सबै उम्मेदवारले चुनावी एजेन्डा बनाएका छन्।

देशले संघीय शासन पद्धति अंगीकार गरे पनि मतदाताले सडक, पुल, ढल, खानेपानी समस्या सांसदहरुबाटै समाधान हुनुपर्ने अपेक्षा गरेका छन्। संघीयता कार्यान्वयन भइसकेपछि स्थानीय, प्रदेश र स्थानीय तहले पूरा गर्नुपर्ने जनताका आधारभूत आवश्यकता कानुन बनाउन संघीय संसद्मा प्रतिनिधित्व गर्नेहरुको थाप्लोमा मतदाताले हाल्न नहुने उम्मेदवारहरुको कथन छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.