गोदावरीमा संचालनमा आयो अन्तर्राष्ट्रिय स्तरको बेस्ट वेस्टर्न प्लस रिसोर्ट

डिसी नेपाल
१ फागुन २०८२ १०:३४
92
Shares

ललितपुर। ललितपुरको गोदावरीमा गोदावरी फरेस्ट होटल लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको रिसोर्ट संचालनमा ल्याएको छ। शान्त र हरियाली वातावरणबीच बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्ट संचालनमा आएको हो। बेस्ट वेस्टर्न प्लस अन्तर्राष्ट्रिय व्रान्ड हो।

विहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले एक भव्य समारोहबीच रिसोर्टको औपचारिक उद्घाटन गरे। काठमाडौंको तिलगंगापछि गोदावरीमा दोस्रो ब्राण्ड संचालनमा आएको हो।

रिसोर्टका जनरल म्यानेजर अरविन्द्र केसीका अनुसार वन क्षेत्रको बीचमा अवस्थित रिसोर्टमा ८३ वटा आकर्षक कोठा तथा सुइटहरू छन्। एक्जिक्युटिभ सुइटदेखि हरियाली दृश्य कोठासम्म पुग्छन्। आधुनिक प्रविधिले सुसज्जित रिसोर्टको विशेषता केवल सुविधा मात्र नभई स्थानीय सांस्कृतिक सौन्दर्य र आधुनिक डिजाइनमा तयार गरिएको छ।

केसीका अनुसार रिसोर्ट संचालनका लागि प्रारम्भिक लगानी दुई अर्ब रहेको र थप विस्तारको तयारी भइरहेको छ। व्यवस्थापनले भावी दिनमा क्यासिनो पनि संचालन गर्ने तयारी गरेको छ।

सुविधा सम्पन्न रिसोर्टबाट काठमाडौं उपत्यकाको दृश्य, बिहानको ताजा हावा र साँझको सुनौलो घामले पाहुनालाई शहरी कोलाहलबाट टाढा ल्याएर प्रकृतिसँग जोड्ने प्रयास गर्ने केसीले जानकारी दिए।

रिसोर्टको सिग्नेचर रुफटप रेष्टुरेन्टमा बसेर सूर्यास्तसँगै डिनर गर्नु वा इन्फिनिटी पूलमा पौडी खेल्दै पहाडको दृश्य नियाल्न सकिने उनको भनाइ छ। रिसोर्टमा मुख्य रेष्टुरेन्ट, प्राइभेट डाइनिङ सुविधा, खुला भोजन स्थल र अन्तर्राष्ट्रिय तथा स्थानीय परिकारको संयोजनले खानपानलाई पनि गन्तव्यको आकर्षण बनाएको छ।

आराम खोज्ने पाहुनाका लागि विश्वस्तरीय स्पा, साउना, स्टीम, फिटनेस सेन्टर र सैलुन सेवा उपलब्ध छन्। शारीरिक विश्राम मात्र होइन, मानसिक शान्तिको अनुभव दिनु पनि रिसोर्टको उद्देश्य रहेको गोदावरी फरेस्ट होटेलका अध्यक्ष विजय मल्ल बताउँछन्।

केवल विश्रामका लागि मात्र होइन, रिसोर्ट कर्पोरेट बैठक, सम्मेलन, सामाजिक समारोह तथा वैवाहिक कार्यक्रमका लागि पनि उपयुक्त स्थलका रूपमा विकास गरिएको छ । तीन अत्याधुनिक हल र बोर्ड मिटिङ कक्षले व्यावसायिक कार्यक्रमलाई सहज बनाउने अपेक्षा गरिएको छ।

फुलचोकी डाँडाको फेदीमा अवस्थित गोदावरी पछिल्लो समय पर्यावरणीय र धार्मिक पर्यटनको केन्द्र बन्दै गइरहेको बेला भब्य रिसोर्टको सुभारम्भ भएको हो। गोदावरी फरेस्ट होटल लिमिटेडका अध्यक्ष मल्ल यसलाई काठमाडौँ उपत्यकाको आतिथ्य क्षेत्रमा ऐतिहासिक क्षण भएको प्रतिक्रिया दिन्छन्। ‘हामी व्यक्तिगत सेवा, विलासी सुविधा र नेपाली आतिथ्यताको आत्मीयता सहित विश्वस्तरीय अनुभव प्रदान गर्न प्रतिबद्ध छौं।’

बेस्ट वेस्टर्न इन्टरनेशनलसँगको साझेदारीले अन्तर्राष्ट्रिय रिजर्भेसन नेटवर्क र लोयल्टी सदस्यहरूसम्म पहुँच विस्तार गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ। रिसोर्टले पहिलो तीन महिनाभित्र बुकिङ गर्ने पाहुनाका लागि २० प्रतिशत छुट र निःशुल्क ब्रेकफास्टको योजना ल्याएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.