निबन्ध : बाँच्नुसम्म मात्रै जिन्दगी
आखिर बाँच्नुको नाम जिन्दगी ! बाँच्नुसम्म मात्रै हो जिन्दगी ! मरेपछि समाप्त सबै। बाँचुन्जेलसम्म मात्रै हो माया, मोह, लोभ लालच, ईष्र्या र घृणाका भावनाहरू !
बाँच्नु, यो शब्द सुन्दा मात्र सास चलेको अवस्था सम्झनु अन्याय हुन्छ।
जिन्दगी सासको गणित होइन, अनुभूतिको कविता हो। हाँस्न सक्नु, सोच्न सक्नु, हेर्न र देख्न सक्नु ! यी सबै मिलेर जिन्दगी बन्छ। कहिलेकाहीँ मौन बस्नु पनि जिन्दगी हो, कहिलेकाहीँ आँसु झार्नु पनि। आखिर, बाँच्नुको नाम नै जिन्दगी हो।
हाँसो जिन्दगीको उज्यालो पक्ष हो। दुःखले थिचेको छातीमा अचानक फुत्किएको सानो हाँसोले पनि दिनभरको भारी हलुका बनाइदिन्छ। हाँस्नु भनेको पीडा नहुनु होइन, पीडासँगै पनि आफूलाई बचाइराख्ने कला हो। जिन्दगीले हामीसँग बारम्बार परीक्षा लिन्छ, तर हाँसोले ती प्रश्नपत्रहरू सजिलै फाट्न नदिने कभर जस्तो काम गर्छ।
सोच्नु जिन्दगीको गहिराइ हो। सोचबिनाको बचाइ खोक्रो हुन्छ। कहिले बितेका दिन सम्झेर सोचिन्छ, कहिले नआएको भोलिको कल्पना गरेर। सोच्दा–सोच्दै मान्छे थाक्छ। तर, त्यही थकाइभित्र नयाँ ऊर्जा पलाउँछ। नवीन सोचले नै हामीलाई मान्छे बनाउँछ अन्यथा त ‘हामी’ बाँच्नु र ‘बोट’ हुर्किनुमा के फरक रह्यो र ?
हेर्नु र देख्नुबीच ठूलो ‘दूरी’ छ। आँखा खुल्ला भएर पनि नदेख्नेहरू धेरै छन्। जिन्दगी भनेको देख्ने ‘अभ्यास’ हो। मान्छेको अनुहारभित्र लुकेको कथा देख्नु, प्रकृतिको मौनतामा बोलिरहेको भाषा देख्नु। एउटा पुरानो रुख जीर्ण भएर ढल्छ, भत्किँदै गएको घर, बाटोछेउको चिया पसल– यी सबै जिन्दगीका ‘अध्याय’ हुन्। यदि हामी देख्न जान्यौँ भने।
घुम्नु जिन्दगीको विस्तार हो। उही ठाउँमा उही सोच बोकेर बसिरहँदा जिन्दगी साँघुरो हुन्छ। कहिले नयाँ ठाउँ, कहिले पुराना सम्झनातिर फर्किनु। दुवै यात्रा हुन्। फर्किनु हार होइन, आफूलाई पुनः भेट्ने मौका हो। जिन्दगी अघि बढ्ने मात्र होइन, कहिलेकाहीँ फर्किएर आफूलाई सोध्ने साहस पनि हो– “म कहाँ छु ?”
जिन्दगी कुनै निश्चित परिभाषामा अट्दैन। कहिले यो पसिनाको मरिकुच्चे भारीले पिठ्यु खुत्रुक्कै परेको हुन्छ। कहिले खुसीको आकाशमा ‘चचहुइ’ गरिरहेको पनि हुन्छ। यो कहिले हाँसोमा बग्छ, कहिले सोचमा अड्किन्छ, कहिले यात्रामा हराउँछ। तर जे भए पनि, सास चलेको मात्र होइन-अनुभूति चलेको अवस्था नै जिन्दगी हो। कसैलाई माया गर्नु र कसैको माया पाउनुसम्म नै बाँच्नुको अर्थ हो।
आखिर, बाँच्नुको नाम जिन्दगी ! र, जिन्दगी महसुस गर्न सकिनु नै यसको सबैभन्दा ठूलो सौभाग्य हो। किनभने आखिर बाँच्नुसम्म मात्रै हो जिन्दगी !
जिन्दगीको सबैभन्दा कठोर तर सबैभन्दा इमानदार सत्य यही हो-आखिर बाँच्नुसम्म मात्रै हो जिन्दगी। त्यसपछिको कथा हामीले सुन्दैनौँ, अनुभूति गर्न सक्दैनौँ। मरेपछि कसले सम्झियो, कसले बिर्सियो, कसले माया गर्यो वा कसले गाली गर्यो ? यी सबै कुरा जिउँदै रहँदाको मात्र चासो हुन्, मरेकोको होइन।
मान्छे जिउँदै छँदा सम्झनाको चिन्ता गर्छ। “मपछि मलाई कसले सम्झेला ?” भनेर धेरैले छटपटीमा रात काट्छन्। तर मरेपछि सम्झनाले न त सुख दिन्छ, न त पीडा। न त फूलको गन्ध थाहा हुन्छ, न त आँसुको तातोपन। त्यसैले सम्झिनु–बिर्सिनु पनि अन्ततः जिउँदैहरूकै स्वार्थ, जिउँदैहरूकै सान्त्वना मात्र हो।
मायाको मूल्य पनि सास चलेको बेला मात्रै हुन्छ। जिउँदै छँदा एउटा स्पर्श, एउटा शब्द, एउटा साथले जीवन उज्यालो बनाउँछ। तर मरेपछि गरिएको माया ढिलो पुगेको चिठीजस्तै हो, अब जसको ठेगाना नै छैन। चिहानमाथि राखिएको फूल सुन्दर देखिएला, तर त्यसले भित्र सुतिरहेको मौनलाई केही फरक पार्दैन।
यसैले जिन्दगीलाई ‘पछि’ का लागि जोगाएर राख्नु व्यर्थ लाग्छ। पछि भेटौँला, पछि भनौँला, पछि माया देखाउँला भन्ने सोचले धेरै सम्बन्ध अधुरै मरेका छन्। जिन्दगी त अहिले हो- यो सास, यो क्षण, यो आँखामा देखिएको संसार। बाँचुन्जेल नबोलेका शब्द, नदिएका माया, नगरेका यात्राहरू मरेपछि अर्थहीन प्रश्न बनेर मात्र बाँकी रहन्छन्। अधुरो इच्छाका चाङहरू, अपुरो सपनाका खातहरू र अधकल्चो यात्राका डोबहरू !
मरेपछि नाम रहला, फोटो रहला, कागजमा लेखिएको दुई लाइन रहला। तर ती सबै जिन्दगी होइनन्, जिन्दगीको छायाँ मात्र हुन्। जिन्दगी भनेको त हिँड्नु, लड्नु, उठ्नु, माफी दिनु, माफी माग्नु। यी सबै जिउँदैका कर्म हुन्।
जीवनका यथार्थ पलहरू हुन्। मृत्युपछिका माया र घृणाको कुनै अर्थ रहँदैन। दोष देखाउनु र खोट लगाउनुको पनि कुनै अर्थ हुँदैन। प्रंशसा गर्नु र सम्मान प्रदान गर्नुले पनि मृत आत्माको मन बुझाउन सक्दैन।
यसैले अब मलाई लाग्छ- बाँच्नुसम्मको जीवनलाई ‘फुक्काफाल’ होइन ‘सच्चा प्राण’ ले भर्नुपर्छ। जहाँ माया र घृणा, प्रशंसा र सम्मानको समान हैसियत कायम रहन सक्छ। जिन्दगीलाई गम्भीर बनाउने होइन, साँचो बनाउने हो। मरेपछि सम्झिने डरले होइन, बाँचुन्जेल महसुस गर्ने साहसले जीवन बाँच्ने हो।
आखिर, जिन्दगी कुनै सम्झनाको स्मारक होइन। यो त सास चलेसम्मको यात्रा मात्र हो।
आखिर बाँच्नुसम्म मात्रै हो जिन्दगी !















Facebook Comment