कविता : जीवित स्वभाव

दिनेश घिमिरे
२ फागुन २०८२ ८:३५

आज समय थामेर बसेको छु
कमजोर भएको नमान्नु
थाकेर सुस्ताएको छु
कमजोर भएको नमान्नु।

आज एक्लै बसेको छु
एक्लो भएछ नभन्नु
थाकेर शान्त छु
कमजोर भएको नमान्नु।

म जोरको आँधी हुँ
बताससँग नदाँज्नु
म उदाँउदो सूर्य हुँ
सन्ध्यासँग नदाँज्नु।

म आफैंमा एक्लो समय हुँ
तिम्रो समयसँग नखोज्नु
मेरो समयले मलाई खोज्नेछ
तिम्रो समयमा मलाई नखोज्नु।

आज समय थामेर बसेको छु
युग सकिएको जस्तै नमान्नु
समय मेरो पनि आउने छ
आज दिन सकिएझै नमान्नु।

म आँधी बोकेर आउनेछु फेरि
म सँगै अनेकौं स्वभावहरू
उलठपुलठ भएर आउनेछन्
मलाई जीवित स्वभाव भनेर बुझ्नु।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.