चलचित्र ‘श्री बुकुरो’ प्रदर्शनमा

डिसी नेपाल
२ फागुन २०८२ ७:०७
32
Shares

काठमाडौं। पारिवारीक कथामा तयार भएको चलचित्र ‘श्री बुकुरो’ शुक्रबारदेखि प्रदर्शन गरिएको छ। निर्देशक सुदीप भुपाल सिंहका अनुसार ‘श्री’ शब्दले सुन्दरता, शक्ति, बुद्धि र धनको सन्तुलनलाई जनाउँछ। ‘बुकुरो’ को अर्थ हुन्छ सानो घर । यसमै आधारित रहेर चलचित्र तयार भएको छ।

एउटी आमा र उसका तीन भाइ छोरा। दुईको विवाह भइसकेको छ भने कान्छोको विवाहको तरखर छ। विवाहकै तयारीमा हुने घटनाक्रमले निम्त्याउने परिस्थितिमा चलचित्र तयार गरिएको छ। पूर्ण पारिवारिक चलचित्रले परिवारको महत्व दर्शाउने निर्देशक सिंहले बताए।

उनले भने, “अहिले परिवार एकसाथ हुन् कुनै शुभकार्य वा चाडपर्व नै हुनुपर्छ। तर, एउटी आमाको चाहना सबै परिवारसँगै रहेर खुसी र सुखी होस् भन्ने हुन्छ। मैले आमाको भावनालाई समेटेर चलचित्र तयार गरेको छु । यो हेरिरहँदा आफ्नो परिवारलाई पक्कै याद गर्नुहुनेछ।”

उक्त चलचित्रमा आमाको भूमिकामा अभिनेत्री लक्ष्मी गिरी छिन्। कलाकारिता गरेको झन्डै पाँच दशकको यात्रामा अभिनेत्री गिरीले यसपटक कथालाई नेतृत्व गर्ने मौका पाएकी छन्। ‘श्री बुकुरो’को सबैभन्दा शक्तिशाली पात्र निर्वाह गर्ने अवसर पाएको अभिनेत्री गिरीले बताइन्।

“मलाई तपाइँ नै चलचित्रको हिरो (शिर्ष पात्र) होभन्दा कता कता डर पनि लाग्यो। किनकि मलाई लिएर यस्तो कथा अहिले कसैले सोच्छ भन्ने मैले सोच्न छाडेकी थिएँ, तर यो कथा सुनेपछि आत्म विश्वास बढ्यो। चलचित्रले परिवार जोड्ने कथा लिएर आएको छ, त्यसैले यो पारिवारिक चलचित्र हो”, अभिनेत्री गिरीले भनिन्।

परिवारको एकतामा हुने शक्ति देखाइएको उक्त चलचित्रमा घरलाई निर्जीव वस्तु नभई भावना र सम्झनाको प्रतिकको रूपमा चित्रण गरिएको उनले बताइन्।

“घरसँग जीवनको स्मरण जोडिएको हुन्छ, त्यसैले त्यो निर्जीव होइन। घरको महत्व र परिवारको एकताको विषयलाई केन्द्रमा राखेर तयार गरिएको कथाले दर्शकको मन छुन्छ”, अभिनेत्री गिरीले भनिन्।

चलचित्रमा अभिनेत्री गिरीसँगै आशिर्वाद क्षेत्री, निकिता आचार्य, राजन इशान, उत्तम केसी, रोशनी कार्कीलगायतका कलाकारले अभिनय गरेका छन्। आधुनिक युगमा छरिएको परिवारलाई एकीकृत बनाउने आमाको प्रयासमा दर्शक ‘कनेक्ट’ हुने विश्वास अभिनेता आशिर्वाद क्षेत्रीको छ।

“आमा, छोरा र परिवारको कथाले चलचित्र भवनमा आइपुग्नुभएका दर्शकलाई पर्दाका पात्रसँग जोड्छ भन्ने लागेको छ। यसमा मैले कान्छो छोराको भूमिका निर्वाह गरेको छु, हामी सबै कलाकारको पात्र हाम्रो घर र समाजदेखिने किसिमका छन्”, उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.