प्रणय दिवसलाई अविस्मरणीय बनाउन कहाँ जाने ? यी हुन् नेपालका उत्कृष्ट डेटिङ गन्तव्यहरु

डिसी नेपाल
२ फागुन २०८२ १०:३५
132
Shares

काठमाडौं । वर्षको एक विशेष दिन हो–भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । प्रेम, स्नेह र आत्मीयताको प्रतीक मानिने यो दिनलाई कसरी मनाउने भन्ने योजना धेरै जोडीहरूले केही दिनअघिदेखि नै बनाउन थाल्छन्।

कोही उपहार साटासाट गर्छन्, कोही विशेष खाना र भेटघाटको योजना बनाउँछन्, त धेरैले रमणीय स्थलको भ्रमण रोज्छन्। खासगरी काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा प्रेमिल जोडीहरूका लागि उपयुक्त पार्क, डाँडा, ताल, बगैंचा र हाइकिङ रुटहरू प्रशस्त छन्, जहाँ सानो बजेटमै दिनलाई स्मरणीय बनाउन सकिन्छ ।

काठमाडौं आसपासका पार्कहरू

उपत्यकाभित्रका पार्कहरू डेटिङका लागि सबैभन्दा सजिला र लोकप्रिय गन्तव्य हुन् । कलंकीबाट करिब ६ किलोमिटर पश्चिममा रहेको त्रिभुवन पार्क हरियाली वातावरण, शान्त परिवेश र खुला स्थानका कारण जोडीहरूबीच लोकप्रिय छ । यहाँ पिकनिकसँगै निजी समय बिताउन सकिने पर्याप्त स्थानहरू छन् ।

ठमेलस्थित ऐतिहासिक र सुन्दर गार्डेन अफ ड्रिम (स्वप्न बगैंचा) पनि डेटिङका लागि चर्चित स्थल हो । केशरमहलसँगै रहेको यो बगैंचामा आकर्षक बगैंचा, पोखरी, आरामदायी बस्ने स्थान र क्याफे सुविधा उपलब्ध छ । व्यवस्थित वातावरण खोज्ने जोडीहरूका लागि यो उपयुक्त विकल्प हो ।

ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखाना पनि केवल जनावर अवलोकनका लागि मात्र नभई प्रेमिल भेटघाटका लागि समेत रोजाइमा पर्छ । पोखरी किनार, हरियाली घाँसे मैदान र शान्त वातावरणले यहाँ को अनुभवलाई विशेष बनाउँछ ।

त्यसैगरी बालाजुस्थित बाइसधारा पार्क ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थल हो। स–साना पोखरी, बगैंचा र रानीवन क्षेत्रले जोडीहरूलाई आकर्षित गर्छ।

धार्मिक स्थल वरपरका रमणीय क्षेत्र

धार्मिक स्थल परिसरहरू पनि प्रेमिल भेटघाटका लागि आकर्षण बन्न थालेका छन् । स्वयम्भूनाथ स्तूप परिसरबाट उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । उकालो चढ्दै माथि पुग्दा देखिने काठमाडौं सहरको दृश्य प्रेमिल क्षणहरूका लागि उपयुक्त पृष्ठभूमि बन्छ ।

त्यस्तै पशुपतिनाथ मन्दिर आसपासका बनकाली र मृगस्थली क्षेत्र पनि हरियाली र शान्त वातावरणका कारण युवायुवतीहरूको रोजाइमा पर्ने गरेका छन् ।
बागमती किनारमा रहेको युएन पार्क पछिल्लो समय नयाँ डेटिङ स्पटका रूपमा विकास हुँदैछ । प्रवेश शुल्क नलाग्ने र खुला वातावरण भएकाले यहाँ जोडीहरूको उपस्थिति बढ्दो छ ।

सर्ट–ट्रिप गन्तव्य

यदि दिनभरको सानो यात्राले प्रेम दिवसलाई अझ विशेष बनाउन चाहने हो भने काठमाडौं नजिकैका डाँडा र ताल उपयुक्त विकल्प हुन सक्छन् ।

नुवाकोटमा पर्ने ककनी हरियाली डाँडा, हिमालको दृश्य र स्ट्रबेरी तथा ट्राउट माछाका लागि प्रसिद्ध छ । एक दिनमै घुमेर फर्कन सकिने भएकाले यो सर्ट–ट्रिपका लागि उत्कृष्ट मानिन्छ ।

नागार्जुन क्षेत्रमा अवस्थित वाइट गुम्बा (अमिताभ माउन्टेन) शान्त वातावरण र उपत्यकाको दृश्यका कारण प्रेमील जोडीहरूको मनपर्ने गन्तव्य बनेको छ । केही पैदल यात्रा गर्नुपरे पनि पुगिसकेपछि देखिने दृश्यले थकान भुलाउँछ । स्वयम्भु वा सितापाइलाबाट डेढ घण्टा हिंडेर पुग्न सकिने यो गुम्बा रमणीय बगैंचा र हरियाली डाँडाहरुमा रमाउन प्रेमील जोडीहरूको रोजाइमा परेको छ ।

बल्खु नजिकैको चोभार प्राकृतिक सौन्दर्य र एकान्त वातावरणका कारण चर्चित छ। चलचित्र र म्युजिक भिडियो छायांकनका लागि समेत लोकप्रिय यो क्षेत्र प्रेमिल घुमफिरका लागि उपयुक्त मानिन्छ ।

ताल र हरियाली क्षेत्र

ललितपुरको गोदावरी वर्षैभरि जोडीहरूको भीड लाग्ने गन्तव्य हो। हरियाली जंगल, विभिन्न प्रजातिका फूल र शान्त वातावरण यहाँका विशेषता हुन्। परिवारसँग पिकनिक र जोडीसँग घुमफिर दुवैका लागि यो उपयुक्त छ ।

कीर्तिपुर नगरपालिका–१५ मा रहेको टौदह उपत्यकाभित्रको ठूलो तालमध्ये एक हो। ताल वरिपरि घुम्दै शान्त वातावरणमा समय बिताउन सकिन्छ । धेरै प्रेम जोडीहरु र कलेजका विद्यार्थीहरुको रोजाइमा पर्ने टौदह काठमाडौंको पुरानो बसपार्कबाट दक्षिणकालीको बस चढेर पुग्न सकिन्छ ।

त्यस्तै मकवानपुरको कुलेखानीस्थित इन्द्र सरोवर डुंगा सयर, माछाका परिकार र निलो आकाशको छायाँ परेको तालका कारण लोकप्रिय छ । निजी सवारी साधनमार्फत सजिलै पुग्न सकिने यो स्थल प्रेमिल सयरका लागि उत्कृष्ट मानिन्छ । विद्युत उत्पादन गर्न पानी भरिएको मकवानपुरको इन्द्र सरोबर (कुलेखानी) जोडीहरुले रोज्ने गन्तब्य हो । घुम्नका लागी उपयुक्त स्थान हो ।

हाइकिङ प्रेमीका लागि

यदि प्रेम दिवसलाई साहसिक र सक्रिय बनाउन चाहनुहुन्छ भने हाइकिङ उत्कृष्ट विकल्प हो । शिवपुरी–नागार्जुन क्षेत्रमा पर्ने सुन्दरीजल हरियाली जंगल, झरना र कलकल बग्ने खोलाका कारण युवापुस्ताको रोजाइमा पर्छ। जलासय क्षेत्र, कलकल पानी बगिरहेको खोला–खोल्सीहरु यहाँका आकर्षण हुन् । अझै शिवपुरी–नागार्जुन निकुन्ज क्षेत्रमा प्रवेशका लागि ५० रुपैंया शुल्क तिरेपछि सुन्दरीजललाई दिनभर फन्को लगाउन पाइन्छ । काठमाडौं बसपार्कबाट १६ किलोमिटर यात्रा गरेर यहाँ पुग्न सकिन्छ ।

अझै अगाडि बढ्न चाहनेहरूका लागि चिसापानी उत्कृष्ट गन्तव्य हो। सुन्दरीजलबाट करिब सात घण्टाको पैदल यात्रापछि पुगिने यस स्थानबाट लाङटाङ र गौरीशंकर हिमालको दृश्यावलोकन गर्न सकिन्छ । एकरात बसाइ गरेर फर्किने योजना बनाउँदा अनुभव झनै स्मरणीय हुन्छ ।

सानो बजेट, ठूलो सम्झना

भ्यालेन्टाइन डे मनाउन महँगो उपहार वा विलासी रिसोर्ट अनिवार्य छैन । साँचो मायाको अनुभूतिसँगै बिताएको समय र सम्झनामा बस्ने क्षणहरूले दिनलाई विशेष बनाउँछ । काठमाडौं उपत्यका र आसपासका यी प्राकृतिक, ऐतिहासिक र रमणीय गन्तव्यहरूले सानो बजेटमै ठूलो खुशी दिन सक्छन्।

यस वर्षको भ्यालेन्टाइन डेमा भीडभाडभन्दा टाढा, प्रकृतिको काखमा, हरियाली डाँडामा वा शान्त ताल किनारमा बसेर प्रेमलाई नयाँ अर्थ दिन सकिन्छ। योजना मिलाएर सुरक्षित र जिम्मेवार ढंगले यात्रा गर्दै आफ्नो प्रेम दिवसलाई अविस्मरणीय बनाउन सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.