अमेरिकास्थित कवि कविन्द्र सिटौलाद्वारा ‘संसारकै खुसी जाति हामी’ गीत सार्वजनिक

डिसी नेपाल
२ फागुन २०८२ २०:२९
44
Shares

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएका कवि एवं साहित्यकार कविन्द्र सिटौलाले आफ्नो पच्चिसौं वैवाहिक वर्षगाँठको उपलक्ष्यमा परिवारसँग गरेको युरोप भ्रमणका स्मृतिलाई सृजनात्मक रूप दिँदै ‘संसारकै खुसी जाति हामी’ शीर्षकको गीत सार्वजनिक गरेका छन्।

सन् २०२३ मा सात युरोपेली देशको भ्रमणका क्रममा नेदरल्यान्ड पुग्दा टुर गाइडले “Welcome to one of the world’s Top 20 Happiest Country” भनेको प्रसंग सिटौलाको स्मृतिमा अझै ताजा छ। त्यही क्षणमा उनले खुसीको विश्व सूचकांकमा नेपाल ९३ औँ स्थानमा रहेको तथ्य सम्झिए। यद्यपि, दक्षिण एसियाली मुलुकहरूमध्ये भुटान बाहेक नेपाल अग्रस्थानमा देखिएको विषयले आफूलाई उत्साहित बनाएको सिटौलाले बताए।

सिटौलाका अनुसार नेपाल वास्तवमै सुन्दर देश हो-यो सुन्दरता केवल प्रकृतिमा मात्र नभई नेपालीको मन र मस्तिष्कमा पनि विद्यमान छ। “हामीभित्रको सकारात्मक ऊर्जा र खुसीको संस्कारलाई पुनः जागृत गर्नु आवश्यक छ,” उनले भने।

उनका विचारमा गीत-संगीतले मानिसलाई खुसी बनाउने सबैभन्दा शक्तिशाली माध्यमको भूमिका खेल्छ, र खुसी हुन आर्थिक समृद्धिमा मात्र निर्भर रहनु पर्दैन। नेपाली समाज स्वाभाविक रूपमा संगीतमा रमाउने, दुःख-पीडालाई क्षणिक विश्राम दिने सांस्कृतिक प्रवृत्तिमा समृद्ध रहेको उनको धारणा छ।

भ्रमणकै क्रममा अस्ट्रिया बाट स्विजरल्याण्ड प्रवेश गर्दै गर्दा देखिएका रमणीय प्राकृतिक दृश्यहरूले उनलाई नेपाल सम्झाए। सोही प्रेरणाबाट उनले आफ्नो जीवनको पहिलो गीत ‘संसारकै खुसी जाति हामी’ रचना गरेका थिए। रचनापछि दुई वर्ष पछि विज्ञान र प्रविधिको सहयोगमा गीतलाई सांगीतिक भिडियोसहित तयार पारिएको हो।

आज, फेब्रुअरी १४, २०२६-विश्वभर प्रेम दिवस मनाइरहेका खुसीका अवसरमा-गीत सार्वजनिक गरिएको सिटौलाले जानकारी दिए। आगामी दिनमा नेपाली गायक तथा संगीतकारहरूको सहकार्यमा गीतलाई नेपाली संगीतको मूलधारमा अघि बढाउने योजना रहेको उनले बताए।

कवि सिटौलाको साहित्य र संगीत यात्राप्रति डीसी नेपाल परिवारले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.