बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइज युनाइटेडलाई
धरान (सुनसरी)। छब्बिसौं अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौंले जितेको छ। धरान रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि हात पारेको हो।
खेलको पहिलो हाफमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए। दोस्रो हाफको १८औं मिनेटमा प्लानिङ ब्वाइजका खेलाडी प्रतापसिंह राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा राईले गरेको गोल खेलको निर्णायक बन्यो।
प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड लगातार दोस्रोपटक उपविजेता बनेको हो भने पहिलोपटक सहभागिता जनाएको प्लानिङ ब्वाइज युनाइटेड भने बुढासुब्बा गोल्डकपको विजेता बन्न सफल भएको छ। उपाधिसँगै प्लानिङ ब्वाइजले रु १० लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता चर्च ब्वाइजले रु पाँच लाख प्राप्त गरेको छ। फाइनल खेलको ‘म्यान अफ दी म्याच’ प्लानिङ ब्वाइजका पूजन थापा घोषित भए। थापालाई रु १० हजार प्रदान गरियो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङ ब्वाइजका प्रतापसिंह राई घोषित हुँदै एक थान स्कुटर प्राप्त गरे। उत्कृष्ट गोलरक्षक प्लानिङ ब्वाइजका योगेश धिमाल तथा उत्कृष्ट डिफेन्डर निङ्मा घिसिङ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की तथा उत्कृष्ट स्ट्राइकर चर्च ब्वाइजका अभियोमी घोष भए। उनीहरुले जनही रु २५ हजार पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता प्लानिङ ब्वाइजका प्रतापसिंह राई, झापा–११ का एरोन थापा र राजेश दाहाल घोषित हुँदै जनही रु १२ हजार पुरस्कार पाए।







डिसी नेपाल







Facebook Comment