निर्वाचन प्रयोजनका लागि बाँकेमा आठ उम्मेदवारको मात्र बैङ्क खाता
नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार हुनुभएका ५६ मध्ये आठ जनाले मात्रै बैङ्क खाता खोलेका छन्। जिल्लाको निर्वाचन क्षेत्र नं १ मा चार, निर्वाचन क्षेत्र नं २ मा दुई र निर्वाचन क्षेत्र नं ३ मा दुई उम्मेदवारले मात्रै बैङ्क खाता खोल्नुभएको निर्वाचन आचारसंहिता अनुगमन समितिको प्रतिवेदनमा उल्लेख छ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पूर्णबहादुर खत्रीले खाता नखोलेका अन्य उम्मेदवारलाई पनि खाता खोल्न आग्रह गरिएको बताए।
“बैङ्कमा खाता नखोलेका उम्मेदवारलाई ताकेता गरिरहेका छौँ,” उनले भने। निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले व्यक्तिगत तथा अन्य खाताबाट खर्च नगरी निर्वाचन प्रयोजनका लागि अलग बैङ्क खाता प्रयोग गर्नुपर्ने व्यवस्था कार्यान्वयन भएको वा नभएको विषयमा अनुगमन गरिएको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ।
अनुगमन अधिृकृत खत्रीले निर्वाचन आयोगमा उम्मेदवारको नाम, सम्बन्धित दल, निर्वाचन क्षेत्र र बैङ्क तथा शाखाको विवरण उल्लेख गरी निर्वाचन आयोगमा अनुगमन प्रतिवेदन पठाइएको जानकारी दिँदै पारदर्शिता कायम गर्न र निर्वाचन खर्चको सही लेखाजोखा राख्न यसले सघाउ पुर्याउने बताए। उनले निर्वाचन खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन सबै उम्मेदवारले तोकिएको नियमअनुसार छुट्टै खाता प्रयोग गर्नुपर्नेमा जोड दिँदै यसले निर्वाचन खर्च नियन्त्रण, कालोधन प्रयोग न्यूनीकरण तथा स्वच्छ प्रतिस्पर्धा सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए।
यसैबीच मतदाता शिक्षाका लागि स्थानीय तहमा अधिकृत तहका कर्मचारीलाई तालिम दिइएको छ। जिल्लाको आठ स्थानीय तहका आठ जनालाई सो तालिम दिइएको र तालिम पाउनुभएका अधिकृत कर्मचारीले आफ्नो पालिकामा रहेका स्वयंसेवकलाई तालिम दिन सुरु गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। स्वयंसेवकलाई प्रदान गरिने तालिम केहीले सम्पन्न गरिसकेको र केहीले आज नै गर्न लागेको जानकारी दिँदै जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले आइतबारदेखि मतदाता शिक्षा सुरु गरिने बताए।
जिल्लाको नेपालगन्ज उपमहानगरपालिकामा २३, कोहलपुर नगरपालिकामा १५, राप्तीसोनारी गाउँपालिकामा नौ, नरैनापुर गाउँपालिकामा ६, डुडुवा गाउँपालिकामा ६, जानकी गाउँपालिकामा ६, बैजनाथ गाउँपालिकामा आठ र खजुरा गाउँपालिकामा आठ वडा रहेका छन्। यी सबै वडामा बदर मत घटाउने उद्देश्यले प्रत्येक वडामा एक–एक स्वयंसेवक परिचालन हुनेछन्। बाँकेमा कुल ८१ वडा कार्यालय छन्।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख शाहीका अनुसार नमूना मतपत्रमार्फत मत सङ्केत गर्ने, कागजात मिलाएर लैजाने लगायतका विषय गाउँ, बस्तीमा स्वयंसेवकले सिकाउने छन्। मतदाता शिक्षा फागुन ३ गतेदेखि १७ सम्म सञ्चालन हुनेछ। “यसको मुख्य उद्देश्य बदर मत घटाउने नै हो,” उनले भने।
तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा कुल मतदाताको सङ्ख्या तीन लाख ५० हजार ३७१ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लामा १३९ मतदानकेन्द्र र ४०० मतदानस्थल छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म दुई हजार ३३८ अस्थायी मतदाताका रुपमा समेत दर्ता भएका छन्।







डिसी नेपाल







Facebook Comment