महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने तयारीमा उपाध्यक्ष ढकाल

डिसी नेपाल
३ फागुन २०८२ १३:१९
16
Shares

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न साधारण सभा तथा अधिवेशनलाई लक्षित गर्दै नेतृत्व चयनको चर्चा पनि विस्तारै बढ्न थालेको छ।

हाल महासंघका उपाध्यक्ष समेत रहेका हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष पदसम्म जाने आफ्नो तयारी रहेको संकेत गरेका छन्।

महासंघको २८ र २९ चैतमा हुने साधारण सभा तथा अधिवेशनअघि प्रदेश उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न गर्नुपर्ने प्रावधान रहेपनि हाल निर्वाचन आयोगको आचारसंहिताका कारण प्रक्रिया प्रभावित भएको ढकालले बताएका छन्।

निर्वाचन सम्पन्न भएपछि महासंघको सचिवालय र कार्यसमितिले आवश्यक निर्णय गरेर अगाडि बढ्ने उनको भनाइ छ । ढकालका अनुसार यसअघि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहे पनि विधान संशोधनपछि अब वरिष्ठ उपाध्यक्ष पदमै चुनाव लड्नुपर्ने र त्यसपछि अध्यक्षमा पनि प्रत्यक्ष प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था लागू भएको छ । वरिष्ठ उपाध्यक्ष कार्यसमितिका सदस्यहरूले चयन गर्ने व्यवस्था रहेको उनले स्पष्ट पारे ।

‘साथीहरूको अपेक्षा वरिष्ठमा जानु भन्ने छ । वातावरण कसरी बन्छ, साथीहरूसँग सल्लाह गरेर अगाडि बढ्ने हो,’ ढकालले भने ।
तीन वर्षको कार्यअनुभवलाई आधार

वस्तुगत संघतर्फबाट निर्वाचित उपाध्यक्ष ढकालसँग १४२ वस्तुगत संघसँग समन्वय गर्दै काम गरेको अनुभव छ । यसअघि कृषि उद्यम केन्द्रको नेतृत्व, कोभिड–१९ महामारीका बेला स्वास्थ्य तथा सीप विकास समितिमा सक्रिय भूमिका, अक्सिजन, क्वारेन्टाइन र औषधि आपूर्ति व्यवस्थापनमा समन्वय जस्ता कामलाई उनले आफ्नो कार्यकालका उपलब्धिका रूपमा उल्लेख गरेका छन् । झापा उद्योग वाणिज्य संघ र चिया उत्पादक संघमा काम गरेको अनुभवले पनि आफूलाई महासंघको नेतृत्व सम्हाल्न आत्मविश्वास दिएको उनले बताए ।

महासंघभित्र आफू एउटै समूहको सदस्यका रूपमा सहकार्यको भावनासहित अगाडि बढ्ने बताउँदै उनले अन्ततः साथीहरूको सल्लाह र सहमतिमै नेतृत्व यात्राको टुंगो लाग्ने संकेत गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.