देशलाई नयाँ चरणमा लैजाने जिम्मेवारी कांग्रेससँग छः उपसभापति शर्मा
डुम्रे (तनहुँ)। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिँदो अवस्थामा पुस्तान्तरबीचको दूरी घटाएर गरी समन्वय गर्दै देशलाई विश्वासको नयाँ चरणमा लैजाने जिम्मेवारी कांग्रेससँग रहेको बताएका छन्।
नेपाली कांग्रेस तनहुँद्वारा दमौलीमा आज आयोजित आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोजित बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गरे।
चुनाव केवल दलको जित हारको विषय नभई देशलाई सङ्कटबाट निकास दिने क्षमताको परीक्षण गर्ने समय भएको उनको भनाइ थियो। उनले भने, ‘मूल प्रश्न कुन दलले जित्ने भन्ने होइन, विषम परिस्थितिमा देशलाई कसले संयमतापूर्वक समन्वय गर्न सक्छ र कसले परिपक्व तवरबाट फूलको माला जसरी गाँस्न सक्छ र देशलाई स्वच्छ बनाएर हाँक्न सक्छ भन्ने हो।’
उनले ऐतिहासिक तथ्यका आधारमा कांग्रेसले मुलुकलाई सही ढङ्गले अघि बढाएको उदाहरण जनतामाझ लैजान आग्रह गरे। कांग्रेस यतिबेला सभापति गगन थापालाई प्रधानमन्त्री बनाउने अभियानमा लागेको बताउँदै उनले भने, ‘त्यही अभियानको लहर तनहुँमा पनि मिसिनेछ। देशलाई नवीन सपनामा, नवीन मार्गमा लैजानुछ। यदि सही ढङ्गले देशलाई अघि बढाउन सकेनौँ भने अहिले जेनजी विद्रोह भयो। दश वर्षपछि फेरि अल्फाको विद्रोह हुनेछ। हामी त्यो अवस्था बन्न दिने छैनौँ।’
नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईले यहाँ सुशासन, समृद्धि कायम गर्दै आमनागरिकको माग पूरा गर्न प्रतिबद्ध रहेको बताए। विषम् परिस्थितिलाई चिरेर देशकै जिम्मेवारी लिने गरी अगाडि बढेकाले कांगे्रसलाई मतदान गर्न उनले आग्रह गरे।







डिसी नेपाल







Facebook Comment