चुनावी दौडधुपले दमक अस्तव्यस्त : ओली-बालेनप्रति समर्थनसँगै आक्रोश बढ्दो

डिसी नेपाल
५ फागुन २०८२ १२:१९
1.5k
Shares

दमक। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूको चुनावी गतिविधि तीव्र बन्दै गएको छ। निर्वाचन आयोगले आगामी १८ गतेसम्म आचारसंहिता पालना गर्दै प्रचार–प्रसार गर्न समयसीमा तोकेको भएपनि झापा क्षेत्र नम्बर-५ मा भने आचारसंहिता उल्लंघनको आरोपसहित विवाद चर्किएको छ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहानदेखि झापा-५ क्षेत्रमा मतदाता भेटघाटमा सक्रिय रहेका थिए। सोही क्रममा उनी कार्यकर्तासहित दमक अस्पताल पुगेपछि अस्पतालको नियमित सेवा प्रभावित भएको भन्दै सेवाग्राहीहरूले गुनासो गरेका छन्।

सोमबार बिहानदेखि नै दमक अस्पताल बिरामीले भरिभराउ थियो। लगातार दुई दिन सार्वजनिक बिदा परेकाले बिरामीको चाप असाध्यै बढेको अस्पताल स्रोतले जनाएको छ। बिहान करिब ११ बजेदेखि एमाले निकट युवा संघका कार्यकर्ताहरू अस्पताल गेटमा झण्डा-ब्यानरसहित नाराजुलश गर्दै भेला भएका थिए।

प्रत्यक्षदर्शीका अनुसार दिउँसो करिब १ बजेर ५० मिनेटमा ओली अस्पताल परिसर प्रवेश गरेलगत्तै ‘माथिको निर्देशन’ भन्दै काउन्टर, वार्ड तथा इमरजेन्सी सेवासमेत केही समयका लागि रोकिएको थियो। औषधि लिन लामो समयदेखि लाइनमा बसेका सेवाग्राहीहरू फार्मेसी सेवा बन्द भएपछि थप समस्यामा परेका थिए।

एक सेवाग्राहीले नाम नबताउने सर्तमा आक्रोश व्यक्त गर्दै भने, ‘हामी बिहानैदेखि लाइनमा बसेका थियौं। अचानक सेवा बन्द भयो। बिरामी लिएर आएका छौं, तर कसैले सुनुवाइ गरेन। चुनाव प्रचारका लागि अस्पताल जस्तो संवेदनशील स्थान किन प्रयोग गर्ने?

अर्का सेवाग्राहीले अस्पतालमा दलबलसहित प्रवेश गरी सेवा प्रभावित पार्नु अनुचित भएको टिप्पणी गरे। बिहान ७ बजेदेखि लाइनमा बसेका रन्जन राईले भने,‘घण्टौँ पर्खिँदा पनि डाक्टर भेट्न पाइएन। नेताले जे गरे पनि हुने हो र?’

निर्वाचन आचारसंहिता, २०८२ अनुसार अस्पताल, विद्यालय तथा अन्य संवेदनशील सार्वजनिक स्थलमा राजनीतिक भेला, प्रचार-प्रसार वा भीडभाड गर्न निषेध गरिएको छ। दफा ४ (ग) मा सरकारी तथा सार्वजनिक संस्थाको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी कार्यक्रम गर्न नपाइने स्पष्ट उल्लेख छ भने दफा ४ (झ) मा सार्वजनिक सेवा तथा आवागमन अवरुद्ध हुने गतिविधि गर्न रोक लगाइएको छ।

झापा निर्वाचन कार्यालयका निर्वाचन अधिकृत तुलसी नेपालले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा प्रचार गतिविधि गर्न नपाइने स्पष्ट पार्दै सेवा प्रभावित भएको प्रमाणित भए आवश्यक प्रक्रिया अघि बढाइने बताए। यता दमक अस्पताल प्रशासनले भने सेवा लामो समय अवरुद्ध नभएको दाबी गरेको छ। अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेले कार्यक्रम अस्पताल बाहिर केन्द्रित रहेको र केही समय मात्र प्रभाव परेको बताए। उनका अनुसार पूर्वप्रधानमन्त्री आउने जानकारी पहिले नै भएपनि निर्धारित समय ढिलो हुँदा अवस्था असहज बनेको थियो।

चिकित्सक तथा नर्स स्वागतमा गएको विषयमा उनले ‘रेस्ट टाइम’ रहेको स्पष्टीकरण दिए। तर प्रत्यक्षदर्शीका अनुसार सो समयमा पनि सेवाग्राहीहरू उपचारको प्रतीक्षामा थिए। ओली करिब २ बजेर ३० मिनेटसम्म अस्पताल परिसरमा रहेका थिए। त्यस अवधिमा केही सेवाग्राही र कार्यकर्ताबीच विवादसमेत भएको थियो। एक महिलाले उपचार नपाएको भन्दै रोईकराई गर्दा प्रहरीले सम्झाइरहेको दृश्यले वातावरण थप तनावपूर्ण बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

एमाले झापा-५ निर्वाचन परिचालन समिति संयोजक देबेन्द्र दाहालले भने ओली चुनाव प्रचारका लागि नभई अस्पताल निरीक्षण गर्न पुगेको दाबी गरे। उनका अनुसार अस्पतालको स्तरोन्नतिमा ओलीको योगदान रहेकाले सोको अवस्थाबारे बुझ्न मात्र भ्रमण गरिएको थियो र सेवा प्रभावित पार्ने उद्देश्य नरहेको बताए।

यद्यपि, ओलीको भ्रमणलाई लिएर आचारसंहिता उल्लंघनको आरोप भने पहिलो पटक होइन। आइतबार पनि दमक-२ स्थित हिमालय माध्यमिक विद्यालयमा राजनीतिक कार्यक्रम गरिएको भन्दै आलोचना भएको थियो, जबकि निर्वाचन आचारसंहिताले विद्यालय तथा शैक्षिक संस्थामा राजनीतिक गतिविधि गर्न स्पष्ट रूपमा रोक लगाएको छ।

चुनावी माहोल तातेसँगै सार्वजनिक सेवा प्रभावित हुने घटनाले मतदातामाझ राजनीतिक दलहरूको जिम्मेवारीबारे प्रश्न उठ्न थालेको छ। यता, रास्वपाका उम्मेदवार वालेन्द्र शाह(बालेन)ले भीड जम्मा गरेर सडकमा असहज अवस्था सिर्जना गरेको आरोप पनि लागेको छ । सवारी साधन आवातजावत मै समस्या हुँदा यात्रुहरुले हैरानी व्यहोरिरहेको गुनासो आउन थालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.