भाइरल भ्रम र भविष्य
हिजोआज भाइरल शब्द सर्वाधिक चर्चित भइरहेको छ। भाइरल शब्द केवल प्रविधिसँग सम्बन्धित शब्द मात्र रहेन, यो सामाजिक चेतना, राजनीतिक निर्णय र लोकतान्त्रिक अभ्यासलाई निर्देशित गर्ने शक्तिशाली कारक बन्दै गएको छ।
एआइ र एल्गोरिदमको युगमा भाइरल शब्दले राजनीति, अर्थतन्त्र, मिडिया, व्यक्ति र समाज विभिन्न क्षेत्रमा अत्यन्तै गहिरो प्रभाव पारेको छ। भाइरल कपडा, भाइरल चियापसल, भाइरल क्याफे, भाइरल राजनीति पार्टी, भाइरल उम्मेदवार, भाइरल अनलाइन आदि सूची धेरै लामो हुनसक्छ।
धेरै जनताको जनजिब्रोमा भाइरल शब्द खुब झुन्डिन थालेको छ। यसले मानिसहरूबीचको संवादलाई निर्देशित गरिरहेको छ। लाइक, डिसलाइक, कमेन्ट र भाइरल कन्टेन्टका भरमा धेरै जसो मानिसहरुले आफ्नो धारणा बनाई रहेका छन्। यस्तो किन भइरहेको छ ? यसको विश्लेषण गर्न जरुरी छ।
धेरैलाई थाहा छ, सत्य गहिरो हुन्छ, त्यसैले ढिलो बुझिन्छ। भाइरल छिटो हुन्छ, त्यसैले छिटो विश्वास गरिन्छ। हामी हतारमा छौं, हामीलाई तत्काल धेरै कुरा चाहिएको छ। यसको प्रत्यक्ष प्रभाव समाजका विभिन्न क्षेत्र स“गस“गै विशेषगरी हाल राजनीति क्षेत्रमा बढी मात्रामा परेको देखिन्छ।
चुनावमा मतदाताले आफ्ना वर्षौंदेखिका दुःखको जादुमयी उपचार खोजिरहेका छन्। राजनीतिक दलहरूले पनि यही कमजोरीलाई समातेर भाइरल हुने खालका सस्ता नारा र आश्वासन बाँडिरहेका छन्। हामीलाई लाग्छ कि एउटा चुनावले सबै थोक बदल्छ, तर राजनीतिक र सामाजिक परिवर्तन एक निरन्तर र ढिलो प्रक्रिया हो। हतारमा गरिने निर्णयले प्रायः पछुतो मात्र दिन्छ।
विकास, समृद्धि र न्यायको तीव्र चाहनाले हामीलाई प्रक्रियाभन्दा परिणाममा केन्द्रित गराएको छ। हामी विकास, समृद्धि र न्यायका लागि यति भोकाएका छौँ कि हामीलाई प्रक्रिया भन्दा परिणाम मात्र चाहिएको छ। यो अधीरताले गर्दा नै समाजमा भाइरल संस्कृति पपुलिजम (लोकप्रियतावाद) हाबी भइरहेको छ।
सामाजिक सञ्जालका एल्गोरिदमहरूले पनि यस्तै उत्तेजक सामग्रीलाई बढावा दिइरहेका छन्। यसले गर्दा मानिसहरूले जे धेरै देख्छन् त्यसैलाई सत्य मान्न थाल्छन्। सामाजिक सञ्जालको प्रभावले गर्दा हामी याक्ट भन्दा पनि इम्प्रेसनको पछि दौडिरहेका छौँ।
पहिले मानिसहरू राजनीतिक सिद्धान्त र विचारका आधारमा नेताहरूबाट प्रेरित हुन्थे। अब अल्गोरिदमले गरिदिएको प्रचार भाइरल संस्कृतिबाट प्रभावित भइरहेको छ। आज मुख्य चासो र चिन्ता यसै विषयमा केन्द्रित बन्दै गइरहेको छ।
सत्य ढिलो बुझिनुको अर्थ यो होइन कि त्यो कमजोर छ। बरु त्यो दिगो छ। भाइरल छिटो हुनुको अर्थ यो होइन कि त्यो सही छ। बरु त्यो क्षणिक छ। कबि लेखनाथ पौड्यालको चर्चित कविताको एक अंश नै बुझ्नलाई काफी रहेको छ। उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ। सामाजिक सन्जालमा भाइरल भइरहेका विषय वास्तवमा क्षणिक र खहरे जस्ता हुन्छन्।
सत्य भने ढिलो भए पनि स्थायी हुन्छ। तसर्थ कुनै पनि समाज केवल भाइरल भावनामा लामो समय टिक्न सक्दैन। यदि भोलि हाम्रो निर्णय एल्गोरिदमले लियो भने, लोकतन्त्रलाई दोष दिने कि आफ्नो विवेक सुम्पिएको स्वीकार गर्ने? एउटा गम्भिर प्रश्न खडा भएको छ।
मनोविज्ञानका अनुसार हामीलाई छिटो प्रतिफल चाहिएको छ। जसले गर्दा हामी गहिरो सत्यतिर लाग्नु भन्दा भाइरल र सतही कुरामा अल्झिन रुचाउँछौं। कुनै पनि कुरा भाइरल हुँदैमा दीगो हुँदैन। एल्गोरिदमको मिसयुजले लोकतन्त्रलाई उन्नत बनाउँदैन।
यसले जनताको स्वतन्त्र विवेकलाई बन्धक बनाउँछ। त्यसकारण संसारको इतिहास साक्षी छ, शासन छनौटमा जनताले प्रयोग गर्ने स्वतन्त्र विवेकले नै लोकतन्त्रको सुन्दर भविष्य तय गर्नेछ।
त्यसकारण स्टन्ट र डिपफेकको गोलचक्करबाट जनताको स्वतन्त्र विवेक माथि उठ्नु जरुरी छ। इतिहासले बारम्बार यही सन्देश दिएको छ। स्वतन्त्र विवेक नै लोकतन्त्रको आत्मा हो। अन्त्यमा यति भन्नै पर्छ भाइरल होइन भ्यालुएवल बनौं।
भवतु मंगलम।















Facebook Comment