सही व्यक्तिलाई मतदान गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
कञ्चनपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गलत व्यक्तिलाई मतदान गर्दा देशले दीर्घकालीन दुःख भोग्नुपर्ने भएकाले सही व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन्।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मतदातालाई गम्भीर र सचेत भएर मतदान गर्न उनले आग्रह गरे।
“मतदान सामान्य प्रक्रिया होइन, यो भविष्य निर्माण गर्ने निर्णय हो,” उनले भने, “जनता सार्वभौम सत्ताका मालिक भएकाले आफ्नो मत प्रयोग गर्दा हजार पटक सोच्नुपर्छ।”
उनले देश हाल भू–राजनीतिक चक्रब्यूहमा फसेको उल्लेख गर्दै राष्ट्रिय हित केन्द्रमा राखेर नयाँ समझदारी र स्पष्ट दिशाको आवश्यकता औँल्याए। सबै राजनीतिक दललाई निष्पक्ष रूपमा मूल्याङ्कन गर्न आग्रह गर्दै उनले देश जोगाउने शक्ति कुन दलसँग छ भन्ने विवेकपूर्ण निर्णय गर्न मतदातासँग अपिल गरे। राजा र राजनीतिक शक्तिबीच सहकार्य भए मात्र देश सुरक्षित रहनसक्ने उनको दाबी थियो।
अध्यक्ष लिङ्देनले युवाहरू रोजगारीको अभावमा विदेशिन बाध्य भएको अवस्थाप्रति चिन्ता व्यक्त गरे। “आमा–बुवा र परिवार छाडेर युवाहरू विदेश जानुपरेको अवस्था अन्त्य गर्न सकिन्छ,” उनले भने, “दृढ इच्छाशक्ति र सही नीति भए पाँच वर्षमै देशको मुहार फेर्न सकिन्छ।”
देशको वर्तमान अवस्था सन्तोषजनक नरहेको उल्लेख गर्दै उनले बढ्दो वैदेशिक ऋण र कमजोर आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गरे। राष्ट्रको सुरक्षा र स्वाधीनताको रक्षा गर्न राप्रपालाई प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ मतदान गर्न उनले आग्रह गरे।
यसैबीच, कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तीर्थराज चटौतले आफूले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिबद्धता व्यक्त गरे। विजयी भए राज्यबाट पाउने कुनै पनि सेवा–सुविधा नलिने घोषणा गर्दै उनले स्वच्छ राजनीति र पारदर्शीताको अभ्यास गर्ने प्रतिबद्धता जनाए।







डिसी नेपाल







Facebook Comment