क्रान्तिको आधारभूमिबाट समाजवादको नयाँ यात्रा सुरु गर्न आएको हुँ : प्रचण्ड
रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड नायगाड–देउखोलाबाट करिब एक घण्टाको पैदल यात्रापछि सिस्ने गाउँपालिका– २, नायगाडहुँदै सदरमुकाम रुकुमकोट पुगेका छन् । चुनावी अभियानका क्रममा जिल्लाका विभिन्न विकट स्थानको भ्रमणपछि उनले पत्रकार सम्मेलन गर्दै आफ्ना अनुभव सार्वजनिक गरे ।
संयोजक प्रचण्डले भूमे र पुथा उत्तरगंगा गाउँपालिकाका सबै वडासहित दुर्गम बस्तीहरूमा दुई–तीन दिनमै कठिन अभियान सम्पन्न गरेको उल्लेख गर्दै जनताको अभूतपूर्व उत्साहले भौतिक कठिनाइ महसुस नभई नयाँ ऊर्जा प्राप्त भएको बताए । उनले भने, ‘सबै ठाउँमा सडक सञ्जाल विस्तार, अधुरा बाटो सम्पन्न, क्रमागत योजना पूरा र पुल नभएका स्थानमा पुल निर्माण गर्नुपर्ने माग जनताबाट आएको छ ।’
उनका अनुसार रुकुमपूर्वका जनताबाट सडक सञ्जालका अतिरिक्त शिक्षा, पर्यटन र रोजगारीप्रति विशेष चासो देखिएको छ । ‘यसअघि निर्वाचित नेताबाट भएका कामप्रति स्वीकार र खुसी छ, तर अब काम गुणात्मक हुनुपर्छ भन्ने जनताको अपेक्षा स्पष्ट छ,’ प्रचण्डले भने । रुकुम पूर्वमा आफूप्रति असाधारण विश्वास र अपेक्षा देखिएको उल्लेख गर्दै उनले त्यसले ठूलो जिम्मेवारीको अनुभूति गराएको बताए ।
अभियानका क्रममा प्राप्त ज्ञापनपत्रलाई वर्गीकरण गरी पाँच वर्षभित्र जिल्लामा गुणात्मक काम गर्ने प्रतिबद्धता पनि उनले जनाए ।
रुकुमपूर्वलाई ‘क्रान्तिको आधारभूमि’ उल्लेख गर्दै प्रचण्डले यहाँबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने उद्घोष गरे । ‘देश अप्ठ्यारो अवस्थामा छ । यही आधार इलाकाबाट ‘जनयुद्ध’ र क्रान्ति सुरु गरिएको थियो । अहिले यहीँबाट नयाँ सन्देश दिन रुकुम पूर्व आएको हुँ । यहाँबाट जाने सन्देश देशकै लागि महत्त्वपूर्ण हुन्छ,’ उनले भने ।
‘जनयुद्ध’को आधारभूमिमा आएर ‘जनयुद्ध’ दिवस मनाइएको र त्यसको स्मरणमा ‘जनयुद्ध’का शहीद तथा बेपत्ता परिवार र घाइतेलाई सम्मान गरी प्रमाणपत्र वितरण गरिएको जानकारी दिँदै उनले देशभरिका शहीद परिवार, बेपत्ता परिवार तथा घाइते–अपांगहरू यसबाट उत्साहित भएको बताए ।
रुकुमपूर्व ‘जनयुद्ध’लाई शान्तिमा रूपान्तरण गर्ने क्रममा भएको १२ बुँदे समझदारीसँग जोडिएको ऐतिहासिक स्थल रहेको उल्लेख गर्दै उनले यहाँको सामुदायिक जीवनशैली र परम्पराले नेपाली मौलिकतामा आधारित समाजवाद निर्माण सम्भव रहेको धारणा राखे । ‘समाजवाद बाहिरबाट आयात गर्ने होइन, नेपाली संस्कृति र मौलिकताबाटै निर्माण गर्ने हो । त्यो सम्भावना यहाँबाट देखिन्छ,’ उनले जोड दिए ।
संयोजक प्रचण्डले रुकुमपूर्वको विकास र जनताको हितका लागि आफू प्रतिबद्ध रहेको दोहोर्याउँदै अभियानलाई जनअपेक्षाअनुसार परिणाममुखी बनाउने विश्वास व्यक्त गरे ।







डिसी नेपाल







Facebook Comment