कृषि र पर्यटनको विकाससँगै सुशासन अभिवृद्धि गराउने कास्की-२ का उम्मेदवारको प्रतिबद्धता
गण्डकी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कास्की क्षेत्र नं २ का उम्मेदवारहरुले कृषि र पर्यटनको विकाससँगै सुशासन अभिवृद्धि गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।
भरतपोखरी विकासमञ्च, पोखरा महानगर– ३३ द्वारा कास्की क्षेत्र नं २ बाट दलगत तथा स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका उम्मेद्वारसँग आज आयोजित ‘जनतासँग उम्मेद्वार–उम्मेद्वारसँग जनता’ विषयक साक्षात्कारमा उनीहरुले नयाँ पुस्ताले माग गरेको सुशासनसँगै यस क्षेत्रको विकासका लागि कृषि र पर्यटनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका हुन्।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार हेमबहादुर थापा पराजुलीले जेनजी आन्दोलनका क्रममा उठेको भ्रष्टाचाररहित समाज निर्माणको विषयलाई आफूले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार दीपक भण्डारीले विद्यमान प्रशासनिक झन्झटलाई सहज बनाउँदै सरकारी सेवालाई सहज एवम् प्राथमिकता बनाउन पहल गर्ने बताए। उज्यालो नेपाल पार्टीका उम्मेद्वार कुशल गुरुङले पर्यटनको राजधानी पोखरामा विद्यमान फोहर व्यवस्थापनको समस्या समाधान गराउने उल्लेख गरे।
नेपाल जनमुक्ति पार्टीका उम्मेद्वार ख्यामबहादुर गुरुङले कृषि र पर्यटनको विकासबाटै यस क्षेत्रको विकास गर्न सकिने बताए। स्वतन्त्र उम्मेदवार विष्णुप्रसाद तिवारीले आत्मनिर्भर कृषि उद्यमको विकास लगायतका विषयलाई प्राथमिकतामा राखिने बताउँदै शिक्षाको सुलभतासँगै करको दर घटाउने लगायतका विषयमा जोड दिने बताए।
यस क्षेत्रबाट १७ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। यस क्षेत्रमा कूल मतदाता ८४ हजार १३४ जना रहेका छन् भने मतदान केन्द्रको सङ्ख्या ९७ रहेको निर्वाचन कार्यालय पोखराले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment