युवालाई ‘आगो’ को संज्ञा दिँदै ओलीले भने : आगोलाई दिशा र उर्जा आवश्यक हुन्छ

डिसी नेपाल
७ फागुन २०८२ १४:००
4
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वाधीनता, लोकतन्त्र र समृद्धिलाई प्रमुख प्राथमिकतामा राख्दै आफ्नो धारणा व्यक्त गरेका छन्।

नेकपा एमालेको घोषणा पत्र सार्वजनिक कार्यक्रममा बौल्दै उनले देश पहिलो प्राथमिकतामा रहेको उल्लेख गरे। देशको भूमि, स्वाधीन लोकतन्त्र, संविधान, स्वाभिमान, शान्ति र सुव्यवस्था सबैभन्दा माथि रहेको बताउँदै उनले अन्य कुनै विषय यीभन्दा महत्वपूर्ण हुन नसक्ने स्पष्ट पारे।

उनले भने, ‘हाम्रो प्राथमिकतामा देश पहिला हो। देशको भूमी र स्वाधिन लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति सुव्यस्था यी सबैभन्दा माथि छन् अरु केही पनि छैनन्। हामी निर्माणका पक्षमा छौं। उत्तेजनाको पक्षमा होइनौं। हामी स्वाधिनता र सार्वभौमसत्ताका रक्षक हौं। त्रासममा बाँचेको समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउन चाहन्छौं। विचारहिन र दिशाहिन स्टण्डबाट टाढा छौं हामी। हाम्रो गनतव्य स्पष्ट छ समृद्ध नेपाल, सुखी नेपाली।’

उनले आफ्नो पार्टी निर्माणको पक्षमा रहेको र उत्तेजनाको राजनीतिबाट टाढा रहेको बताए। स्वाधीनता र सार्वभौमसत्ताको रक्षकका रूपमा आफूहरू उभिएको उल्लेख गर्दै त्रासमा बाँचेको समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउने प्रतिबद्धता जनाए। विचारहीन र दिशाहीन स्टण्डबाट टाढा रहेको दाबी गर्दै उनले पार्टीको गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको बताए।

अध्यक्ष ओलीले देश पुस्ताहरूबीचको द्वन्द्वबाट नबनेको र द्वन्द्वले देश नबन्ने धारणा पनि राखे। देश निर्माणका लागि युवाको ऊर्जा आवश्यक रहेको उल्लेख गर्दै उनले जोश, सपना र हिम्मतले कठिन पहाडसमेत चढ्न सकिने बताए। तर त्यससँगै अनुभवी पुस्ताको दृष्टि, बुद्धि, संयम र मार्गदर्शन पनि अपरिहार्य हुने उनको भनाइ थियो।

उनले युवालाई ‘आगो’ र अनुभवलाई ‘उज्यालो’को संज्ञा दिँदै आगोलाई दिशा आवश्यक हुने र उज्यालोलाई ऊर्जा चाहिने बताए। ‘आगो र उज्यालो’ दुवैको संयोजनबाट मात्र देशको भविष्य उज्ज्वल बन्ने उनको तर्क थियो।

उनले भने, ‘यो देश पुस्ताहरुकोबीचको द्वन्द्वले बनेको होइन। द्वन्द्वले बन्दैन पनि चल्दैन पनि। देश बनाउनका लागि युवाको उर्जा चाहिन्छ। त्यो जोश, त्यो सपना, त्यो हिम्मतले कठिन पहाड पनि चढ्न सकिन्छ। तर सँगसँगै अनुभवी पुस्ताको दृश्टि पनि चाहिन्छ। त्यो बुद्धि, त्यो संयम, त्यो मार्गदर्शन जसले युवा लड्खडाउँदा भरोसा दिन्छ। युवा भन्नु आगो हो, तर आगोलाई दिशा चाहिन्छ, नत्र त्यही आगोले जलाउँछ। अनुभव भन्नु उज्यालो हो। तर उज्यालोलाई पनि ऊर्जा चाहिन्छ, नत्र उज्यालो आफैं निभ्छ । ‘आगो र उज्यालो’ दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ।’

राजनीति सबै पुस्तालाई जोड्ने, मिलाउने र साथ लिएर अघि बढ्ने माध्यम भएको उल्लेख गर्दै उनले आगामी निर्वाचन पुस्तान्तरको नभई देश बनाउने र भत्काउनेबीचको जनमत संग्रह भएको दाबी गरे। साथै उनले यो निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको संघर्षसमेत भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.