१४ केजी ५७० ग्राम गाँजासहित ४ भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

डिसी नेपाल
८ फागुन २०८२ १६:५०
880
Shares

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विभिन्न अन्तर्राष्ट्रिय उडानबाट काठमाडौं आएका चार जना भारतीय नागरिकलाई प्रतिबन्धित लागूऔषध गाँजा जस्तो देखिने वस्तुसहित पक्राउ गरेको छ।

कार्यालयका अनुसार शुक्रबार बिहान करिब ६ः३० बजे एयर इन्डियाको उडानमार्फत दिल्लीबाट काठमाडौं आएका २४ वर्षीय भारतीय नागरिक मोहम्मद जुनैदलाई शंकास्पद गतिविधिका आधारमा नियन्त्रणमा लिइएको थियो। जाँचका क्रममा उनको साथबाट प्लास्टिकसहित करिब ३ केजी ८७० ग्राम गाँजा जस्तो देखिने वस्तु बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, करिब ८ः५८ बजे एयर अरेबियाको उडानबाट सारजहाबाट काठमाडौं आएकी ४४ वर्षीया अफसाना अमिर हुसेन शेखको साथबाट प्लास्टिकसहित करिब ७ केजी ४०० ग्राम र ४३ वर्षीया समीना अख्तर बेग मिर्जाको संलग्नता पुष्टि भएको सुरक्षा कार्यालयले जनाएको छ। दुवैलाई आगमन भन्सार क्षेत्रपछिको टनेल गेटबाट नियन्त्रणमा लिइएको थियो।

यस्तै, दिउँसो करिब १ः१५ बजे मलेसियन एयरको उडानमार्फत थाइल्याण्ड हुँदै मलेसियाबाट काठमाडौं आएका २९ वर्षीय शाहजेब अहमदलाई पनि शंकास्पद गतिविधिका आधारमा पक्राउ गरिएको छ। उनको साथबाट प्लास्टिकसहित करिब ३ केजी ३०० ग्राम गाँजा जस्तो देखिने वस्तु बरामद गरिएको छ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरोसँग समन्वय गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा जस्तो देखिने वस्तुको तौल करिब १४ केजी ५७० ग्राम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.