४१ वटा दलद्वारा आयोगमा घोषणा पत्र पेस, बैंक खाता खोल्नेक्रम जारी
काठमाडौं। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि हालसम्म ८६७ उम्मेदवारले निर्वाचन खाता खोलेको छन्।
शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोगकी सहायक प्रवक्ता सीता पुनले हालसम्म सात दलका ८६७ उम्मेद्वारले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोलेको जानकारी दिएकी हुन्।
उनले भनिन्,‘निर्वाचन प्रचारप्रसारको लागि अहिले बैंक खाता खोल्नेक्रम एकदमै बढेको छ। जिल्लाबाट आएको विवरण अनुसार अनुसार ७ (सात) राजनीतिक दल र ८६७ उम्मेदवारले बैंक खाता खोलिसक्नुभएको छ। आइतबारसम्म धेरैजसो उम्मेदवारहरुले खाता खोलिसक्नुहुने छ भन्ने अपेक्षा छ।’
त्यस्तै उनले हालसम्म ४१ वटा दलले घोषणा पत्र पेस गरेको जानकारी दिइन्।
‘हालसम्म घोषणा पत्र पेस गर्ने दल ४१ वटा रहेका छन्। उम्मेदवारको डाटा चाँही अहिलेसम्म आएको छैन्’, उनले भनिन्।
उनको अनुसार निर्वाचन आयोगले हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्ने २९० वटा कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ।
‘निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रवर्धन इकाई पूर्ण रूपमा क्रियाशील छ। हानिकारक सूचना उत्पादन एवम् सम्प्रेषण गर्ने २९० वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइएको छ’, उनले भनिन्।
यस्तै खर्च व्यवस्थापनबारे दलहरूसँग छलफल भइरहेको आयोगले जनाएको छ। निर्वाचन प्रचारप्रसार खर्च व्यवस्थापनबारे आयोगले राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न गरेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment