निर्वाचन २०८२ विशेष : पर्यटन नीति र दृष्टिकोणमा दलहरूको प्रतिस्पर्धा

मनिषा बस्नेत
९ फागुन २०८२ १५:०७
24
Shares

काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै जाँदा राजनीतिक दलहरूले पर्यटन क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा प्रस्तुत गरेका छन्।

विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, क्षेत्रीय विकास र अन्तर्राष्ट्रिय छवि निर्माणसँग प्रत्यक्ष जोडिएको पर्यटन क्षेत्र अहिले चुनावी बहसको केन्द्रमा पुगेको छ।

दलहरूले दिगो पर्यटन, धार्मिक पर्यटन, डिजिटल पर्यटन, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय ब्रान्डिङलाई प्राथमिकता दिएका छन्, तर कार्यनीति र दृष्टिकोण भने फरक–फरक देखिन्छ।

नेपालको पर्यटन क्षेत्र लामो समयदेखि सम्भावनाले भरिएको भए पनि नीतिगत अस्थिरता, पूर्वाधार अभाव, महँगो हवाई भाडा, सीमित अन्तर्राष्ट्रिय उडान र कमजोर बजार प्रवद्र्धनका कारण अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन। यही सन्दर्भमा निर्वाचन घोषणापत्रहरूले पर्यटनलाई अर्थतन्त्रको भविष्यसँग जोडिएको विषय बनाएका छन्।

आध्यात्मिक ब्रान्डिङदेखि डिजिटल पर्यटनसम्म कांग्रेसको योजना

नेपाली कांग्रेसले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको मुख्य आधार बनाउने लक्ष्यसहित आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने योजना अघि सारेको छ। पार्टीले नेपाललाई प्राकृतिक मात्र नभई आध्यात्मिक, सांस्कृतिक र आरोग्य पर्यटनको विश्व गन्तव्य बनाउने सङ्कल्प गरेको छ।

कांग्रेसले योग, ध्यान, आयुर्वेद र जडीबुटीलाई पर्यटनसँग जोड्ने योजना अघि सारेको छ। विदेशी पर्यटकका लागि वेलनेस र डिजिटल नोम्याड भिसा व्यवस्था गर्ने प्रस्तावले नेपाललाई बसोबास र उपचार गन्तव्यका रूपमा पनि स्थापित गर्ने लक्ष्य देखाउँछ।

साथै, जनकपुर–लुम्बिनी–काठमाडौं आध्यात्मिक करिडोर, सांस्कृतिक सर्किट, होमस्टे विस्तार, सांस्कृतिक भिलेज निर्माण र डिजिटल पर्यटन प्लेटफर्म सञ्चालन गर्ने नीति प्रस्तुत गरिएको छ।

हवाई सेवा सुधार, विमानस्थल सञ्चालन शुल्क घटाउने, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकमा विभाजन गर्ने र युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउने लक्ष्य पनि कांग्रेसको प्राथमिकतामा परेको छ।

कांग्रेसको नीति दीर्घकालीन ब्रान्डिङ, सांस्कृतिक पहिचान र स्थानीय रोजगारीसँग पर्यटन जोड्ने दृष्टिकोणमा केन्द्रित देखिन्छ।

एमालेको रणनीति : बजार विस्तार, सेवा गुणस्तर र प्रचार

नेकपा एमालेले पर्यटनलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख स्रोत मान्दै पाँच वर्षभित्र पर्यटक संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ।

पार्टीले पर्यटन विकासलाई पूर्वाधार, बजार प्रवद्र्धन, हवाई सेवा विस्तार, सुरक्षा र नयाँ गन्तव्य विकासमा केन्द्रित गरेको छ।

एमालेले लक्जरी रिसोर्ट, इकोलज, वेलनेस सेन्टर निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ। भिसा नीति पुनरावलोकन, अन्तर्राष्ट्रिय उडान सेवा प्रदायकसँग सहकार्य र आन्तरिक उडान सेवा सुधार गर्ने योजना पनि प्रस्तुत गरिएको छ।

एमालेले डिजिटल प्रचारलाई विशेष प्राथमिकता दिएको छ। सामाजिक सञ्जाल, ट्राभल ब्लगर, इन्फ्लुएन्सर, वृत्तचित्र र चलचित्रमार्फत नेपालको पर्यटनको आक्रामक प्रचार गर्ने योजना पार्टीको मुख्य रणनीति मानिएको छ।

राप्रपाको प्राथमिकतामा धार्मिक पर्यटन

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पर्यटनलाई विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनाको प्रमुख माध्यम मान्दै धार्मिक पर्यटनलाई उच्च प्राथमिकतामा राखेको छ। पार्टीले नेपाललाई हिन्दू, बुद्ध र किराँत धर्मको उद्गमस्थलका रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्ने लक्ष्य लिएको छ।

योग, ध्यान, आयुर्वेद, सांस्कृतिक चिकित्सा र आध्यात्मिक परम्परालाई समेटेर आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बनाउने नीति पनि राप्रपाले अघि सारेको छ।

पदयात्रा अनुमति प्रणाली सरल बनाउने, वैकल्पिक पदमार्ग विकास गर्ने र साहसिक पर्यटनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने योजना पनि प्रस्तुत गरिएको छ।

राप्रपाको नीति सांस्कृतिक पहिचान, धार्मिक गन्तव्य र आध्यात्मिक पर्यटनमा केन्द्रित देखिन्छ।

नेकपाको नजरमा स्मार्ट र डेटा–आधारित पर्यटन

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पर्यटनलाई स्मार्ट, डेटा–ड्राइभन र योजनाबद्ध बनाउने नीति अघि सारेको छ। पार्टीले प्रत्येक जिल्ला र पालिकाको पर्यटन प्रोफाइल तयार गर्ने, डिजिटल ड्यासबोर्ड निर्माण गर्ने र एकीकृत डिजिटल पोर्टलमार्फत सेवा उपलब्ध गराउने योजना प्रस्तुत गरेको छ।

ईको–टुरिज्म, स्वास्थ्य पर्यटन, जडीबुटी पर्यटन, हिल स्टेशन विकास, नयाँ हिमाल आरोहण क्षेत्र खुला गर्ने र केबलकार निर्माणलाई प्राथमिकतामा राखिएको छ।

धार्मिक गन्तव्यहरूमा सडक, पूर्वाधार र सेवा विस्तार गर्ने योजना पनि नेकपाको घोषणापत्रमा समेटिएको छ।

प्रगतिशील लोकतान्त्रिक पार्टीको लक्ष्य : ५० लाख पर्यटक

प्रगतिशील लोकतान्त्रिक पार्टीले पर्यटन प्रवद्र्धनमार्फत विदेशी मुद्रा आर्जनलाई प्राथमिकतामा राख्दै दश वर्षभित्र वार्षिक ५० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

२० वटा प्रमुख स्थानलाई सरकारी–निजी साझेदारी मोडेलमा विशेष पर्यटन क्षेत्र बनाउने, ग्रेट हिमालयन ट्रेल, मुन्दुम ट्रेल जस्ता पदमार्ग विकास गर्ने योजना अघि सारिएको छ।

पार्टीले पर्यटन सुरक्षा, तालिमप्राप्त गाइड, उद्धार सेवा र ब्रान्डिङलाई पनि प्राथमिकतामा राखेको छ। नेपाललाई व्यावसायिक, खेलकुद, शैक्षिक र स्वास्थ्य पर्यटन केन्द्र बनाउने लक्ष्यले यस दलको नीति बहुआयामिक देखिन्छ।

उज्यालो नेपाल पार्टी : पर्यटन समृद्धिको मार्ग

उज्यालो नेपाल पार्टीले पर्यटनलाई धार्मिक, आध्यात्मिक, स्वास्थ्य, शिक्षा तथा उपचारको गन्तव्य र साहसिक खेलको राजधानीका रूपमा विकास गर्दै पर्यटक आकर्षण बढाउँदै वार्षिक १० अर्ब अमेरिकी डलर राजस्व प्राप्त गर्ने लक्ष्य लिएको छ।

साथै, कृषि उत्पादन प्रवद्र्धन तथा निर्यात विस्तारका लागि नियमन प्रणालीलाई चुस्त बनाउने, किसानमैत्री बजार र मूल्य सुनिश्चितता व्यवस्था सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ।

उनेपा पार्टीले पर्यटन क्षेत्रतर्फ विदेशी पर्यटक आगमन सन् २०३० सम्म २० लाख र २०३५ सम्म ५० लाख पु¥याउने लक्ष्य राखेको छ।

नेपाल पर्यटन दशक (२०२६–२०३५) अभियानमार्फत सन् २०३५ सम्म वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित धार्मिक, सांस्कृतिक, साहसिक तथा इको–पर्यटन प्रवद्र्धन गरिनेछ। वर्षका ३६५ दिन पर्यटन गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गरी नेपाललाई पर्यटन हब बनाइनेछ।

स्वदेशी तथा विदेशी हवाई सेवासँग सहकार्य गरी १० प्रमुख विमानस्थललाई बुटिक एयरपोर्टका रूपमा विकास गरिनेछ। नयाँ उडान गन्तव्य थप्दै ट्रेकिङ मार्ग, सडक, केवलकार तथा होमस्टेहरूलाई सुरक्षित र आकर्षक गन्तव्य बनाइनेछ।

रास्वपाको वाचा पत्रमा पर्यटन, उड्डयन र यातायात सुधारमा जोड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी पाँच वर्षभित्र नेपाल भित्रिने पर्यटक संख्या तथा उनीहरूको प्रतिव्यक्ति खर्च दोब्बर बनाउने लक्ष्यसहित पर्यटन, उड्डयन र यातायात क्षेत्र सुधारका महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।

पार्टीले औसत बसाइ अवधि बढाउन आवश्यक नीतिहरू कार्यान्वयन गर्ने, ट्रेकिङ केन्द्रित पर्यटनलाई प्रकृति, संस्कृति र समुदायसँग जोडेर विविधीकरण गर्ने तथा कर्णाली र सुदूरपश्चिममा नयाँ पर्यटकीय गन्तव्य विकास गर्ने प्रतिबद्धता जनाएको छ। विगतमा सडक निर्माणले क्षति पुगेका पदमार्गको विकल्प निर्माण गर्न बजेट छुट्याउने योजना पनि सार्वजनिक गरिएको छ।

पर्वतीय पर्यटनमा सुधार गर्दै हिमालहरूलाई ६,००० मिटरदेखि ८,००० मिटर सम्म तीन श्रेणीमा वर्गीकरण गर्ने र ८,००० मिटरभन्दा माथि आरोहण गर्न तल्लो हिमालको अनुभव अनिवार्य बनाउने प्रस्ताव गरिएको छ। ड्रोन लगायत आधुनिक प्रविधिबाट खोज, उद्धार र सुरक्षा प्रणाली सुदृढ बनाइने बताइएको छ।

पूर्वाधार, रोजगारी र ब्रान्डिङ, दलहरूको घोषणापत्र विश्लेषण गर्दा केही साझा विषय स्पष्ट देखिन्छन्। सबैको प्रतिबद्धता पत्रमा पर्यटनलाई अर्थतन्त्रको प्रमुख आधार मानिएको छ।

रोजगारी सिर्जना र स्थानीय विकाससँग जोडिएको छ। हवाई सेवा सुधार सबै दलको प्राथमिकता बनेको छ। डिजिटल प्रचार र अन्तर्राष्ट्रिय ब्रान्डिङ साझा विषय बनेको छ। धार्मिक, साहसिक र सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्ने सहमति देखिन्छ।

सबै राजनीतिक दलहरुको प्रतिबद्धता पत्रमा पर्यटन क्षेत्रको प्रवद्धनका लागि साझा एजेण्डा भएपनि प्राथमिकता भने फरक छन्। नेपाली कांग्रेसले आध्यात्मिक ब्रान्डिङ र स्थानीय उद्यमलाई प्रामिकतामा राखेको छ।

बजार विस्तार र प्रचारमा एमालेले जोड दिदा राप्रपाले धार्मिक पर्यटनलाई प्रमुख मानेको छ। डिजिटल र योजनाबद्ध पर्यटनका माओवादी केन्द्र केन्द्रित छ भने प्रलोपा र उनेपा पर्यटकको संख्या दोब्ब्र बनाउने लक्ष्य लिएको छ।

घोषणाबाट कार्यान्वयन नै मुख्य चुनौती

नेपालमा पर्यटन विकासको प्रमुख समस्या नीति अभाव होइन, कार्यान्वयन कमजोरी मानिन्छ।

महँगो हवाई भाडा, अन्तर्राष्ट्रिय उडान सीमित, सेवा गुणस्तर असमान, पूर्वाधार कमजोर र बजार प्रवद्र्धन कमजोर हुँदा पर्यटन सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन।

निर्वाचनपछि बनेको सरकारले घोषणापत्रका योजनालाई व्यवहारमा उतार्न सके, पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रलाई रूपान्तरण गर्न सक्छ। तर घोषणाहरू मात्र दोहोरिए भने पर्यटन पुनः सम्भावनाको भाषणमै सीमित हुन सक्छ। यसपटकको निर्वाचनमा दलहरुले पर्यटन सांस्कृतिक वा प्राकृतिक विषय मात्र नभई आर्थिक रूपान्तरणको केन्द्रमा राखेको छ।

दलहरूको नीति फरक भए पनि नेपाललाई विश्व पर्यटन मानचित्रमा बलियो रूपमा स्थापित गर्ने लक्ष्य एउटै छ। तर निर्वाचनपछि बन्ने सरकारले प्रतिबद्धतापत्रमा उल्लेख गरे अनुसार व्यवहारमा रूपान्तरण गर्न सक्ने हो भने मात्र पनि पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रको दिशा निर्धारण गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.