गौरको तनावप्रति माधव नेपालको चिन्ता- सामाजिक सद्भाव बिथोलिन नदिनुस्
रौतहट। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले रौतहटको गौरमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
रौतहट क्षेत्र नं. १ का उम्मेदवार समेत रहेका नेता नेपालले शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै हिन्दु र मुस्लिम समुदायबीचको द्वन्द्वले जनजीवन त्रसित बनेकोमा चिन्ता व्यक्त गरेका छन्।
गौरको सबगढा लगायतका क्षेत्रमा उत्पन्न तनावले सर्वसाधारणको सुरक्षा जोखिममा परेको उल्लेख गर्दै उनले , ‘हिन्दु होस् वा मुस्लिम, कुनै पनि नागरिकको जीवन र सुरक्षा जोखिममा पर्नु हुँदैन। यस्तो द्वन्द्व कुनै पनि हालतमा स्वीकार्य छैन।’
नेता नेपालले स्थिति नियन्त्रणमा लिन सरकार र सुरक्षा निकायसँग निरन्तर संवाद गरिरहेको जानकारी दिए। उनले गृहमन्त्रीसँग टेलिफोन संवाद गरी शान्ति सुरक्षा कायम गर्न आवश्यक परे निषेधाज्ञा (कफ्र्यू) लगाउन र सशस्त्र प्रहरी एवं नेपाली सेना समेत परिचालन गर्न सुझाव दिएको बताएका छन्।
‘मैले गृहमन्त्रीजीसँग कुरा गरेको छु, कफ्र्यु लगाएर भए पनि स्थिति नियन्त्रणमा लिनुपर्छ,’ नेपालले भने, ‘यसका साथै जनकपुरका डिआइजी, रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग पनि समन्वय भइरहेको छ।’
कसैको घरमा क्षति नपुगोस् र व्यक्तिगत मर्यादामा आँच नआओस् भन्नेतर्फ प्रशासन सचेत हुनुपर्नेमा जोड दिँदै उनले घृणा त्यागेर आपसी छलफल र संवादबाट समस्या समाधान गर्न सबै पक्षलाई अपिल गरेका छन्।







डिसी नेपाल







Facebook Comment