पाल्पामा निर्वाचनको तयारी : सामग्री प्याकिङदेखि मतदान केन्द्र सुरक्षाको नमूना अभ्याससम्म

डिसी नेपाल
९ फागुन २०८२ २१:४३
24
Shares

तानसेन (पाल्पा)। आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी पाल्पामा तीव्र पारिएको छ। यहाँका राजनीतिक दलदेखि निर्वाचन कार्यालय, जिल्ला प्रशासनलगायत कार्यालयले निर्वाचनका लागि आवश्यक कामको तयारी तीव्र पारेका छन्।

जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय निर्वाचन सामग्री मिलाउने, मतदाता सङ्ख्याअनुसार मतपत्र मिलाउने, रुजु गर्ने, बिग्रेको मतपत्र हटाउने, मतदानस्थलमा पठाएका मतपत्रको रेकर्ड राख्ने, सिलबन्दी गर्ने, प्याकिङ गर्ने काममा व्यस्त देखिएका छन्।

निर्वाचन कार्यालय पाल्पाले मतदानस्थलमा आवश्यक पर्ने सरसमान प्याकिङ गरी तयारी अवस्थामा राखेको छ। निर्वाचनका लागि अनिवार्य मानिने मत पेटिका, स्वस्तिक छाप र स्ट्याम्प प्याडदेखि मसलन्दका सरसमान, मतदान अधिकृतको डायरी, मुचुल्का फारम, मतदाता नामावली र नयाँ मतदाता परिचयपत्र तयार गरिएको छ।

यसैगरी लाहा छाप, सलाई, मैनबत्ती, सुतली धागो, स्टेसनरी सामग्री, र मतदान केन्द्र व्यवस्थापनका लागि डोरी, अशक्त वृद्धवृद्धाको लागि प्रयोग हुने सांकेतिक कार्ड र प्राथमिक उपचार बाकस समेत व्यवस्था गरिएको छ। यहाँका दुई वटा निर्वाचन क्षेत्रका २५१ वटा स्थायी र दुई वटा अस्थायी गरी २५३ वटै मतदान केन्द्रका लागि आवश्यक सामग्री रुजु गरी पोका बनाउने काम सम्पन्न भएको निर्वाचन कार्यालय पाल्पाका निर्वाचन अधिकारी महेश शर्माले बताए। उनका अनुसार मतदानस्थलमा चाहिने ६० भन्दा बढी प्रकारका सामाग्रीको प्याकिङ गरिएको छ।

यहाँका प्रत्येक निर्वाचन केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरी ६ जनाका दरले कर्मचारी खटाउने गरी अन्तिम तयारीमा लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रहरी प्रशासनले पनि आफ्नो तयारीलाई तीव्र रूपमा अगाडि बढाएको छ। उसले निर्वाचनमा खटिने तालिम प्राप्त निर्वाचन प्रहरीलाई मतदान केन्द्रको सुरक्षामा ध्यान दिनुपर्ने पक्ष र मतदानको प्रक्रियाका विषयमा जानकारी गराउने उद्देश्यले नमुना मतदानस्थलको अभ्यास गराएको छ।

निर्वाचन प्रहरीलाई मतदान प्रक्रिया, उनीहरूले निर्वाह गर्नुपर्ने भूमिकाका साथै सुरक्षा प्रक्रियाका विषयमा नमूना मतदान कार्यक्रममा सहभागी गराई सचेत गराइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए।

तालिमपछि उच्च मनोबलका साथ तोकिएको आचारसंहिताभित्र रहेर काम गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले निर्वाचन प्रहरीलाई निर्देशन दिएका छन्। मतदान केन्द्रमा खटिने कर्मचारी र निर्वाचन प्रहरीको संयुक्त प्रयासबाट नै मतदान व्यवस्थित रूपमा सम्पन्न हुनसक्ने उहाँले विश्वास व्यक्त गरे। “एकजना कर्मचारीले गर्ने व्यवहारका कारणले मतदान केन्द्रको सम्पूर्ण निर्वाचन व्यवस्थापनमा असर पर्ने भएकाले आफूले के गर्न हुने र के गर्न नहुने विषयमा ख्याल राख्नुहोला,” उनले भने।

मतदातालाई भयरहित वातावरणमा मतदान गर्ने वातावरण मिलाउन निर्वाचन प्रहरीको महत्त्वपूर्ण भूमिका हुने प्रहरी उपरीक्षक थारुले बताए। उनले भने“प्रहरीको पोसाक लगाएर आएपछि तपाईंहरू नागरिक होइन, यो समयमा तपाईंहरू निर्वाचन प्रहरी हो, तपाईंहरूले गर्ने व्यवहार नागरिक र लैगिंकमैत्री हुनुपर्छ।”

तालिम अवधिभर निर्वाचन प्रहरीलाई मतदानस्थलको जानकारी, सुरक्षा, भिड नियन्त्रण गर्ने तरिका, निर्वाचन ऐन र कानुनसम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो। दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा एक हजार ४१४ निर्वाचन प्रहरीलाई परिचालन गरिनेछ। यसबाहेक जनपद प्रहरी, सशस्त्र, नेपाली सेनाको विओपी र सिओपी पोष्टबाट समेत सुरक्षा प्रदान गरिनेछ।

आगामी निर्वाचनका लागि पाल्पामा ११८ मतदानस्थल तोकिएको छ भने २५१ मतदान केन्द्र रहेका छन्। यहाँ २९ मतदानस्थल अति संवेदनशील सूचीमा रहेका छन्। जिल्लाको निस्दी, माथागढी, रैनादेवीछहरा,तिनाउ, रामपुरलगायतका स्थानमा रहेका अधिकांश मतदान केन्द्र संवेदनशील रहेका छन्। नगरभित्रकै पनि कतिपय स्थानमा रहेका मतदान केन्द्र सुरक्षाका दृष्टिले संवेदनशील रहेको सुरक्षा समितिले जनाएको छ। पाल्पामा दुई लाख सात हजार ४३६ कुल मतदातामध्ये क्षेत्र नं १ मा ९८ हजार ३८३ र क्षेत्र नं २ मा एक लाख ९५३ मतदाता रहेका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.