अजयबाबु शिवाकोटीले सार्वजनिक गरे प्रतिबद्धता पत्र (पूर्णपाठ)

डिसी नेपाल
१० फागुन २०८२ १४:५४
32
Shares

दोलखा । नेपाली कांग्रेस दोलखाका प्रतिनिधिसभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो विस्तृत चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

दोलखाको धरामा जन्मिएका शिवाकोटी सानैदेखि राजनीतिक संस्कारमा हुर्किएका हुन् भने उनका हजुरबुबा नन्दप्रसाद शिवाकोटी ‘माल्दाइ’ यस क्षेत्रकै विशिष्ट शिक्षासेवी र राजनीतिज्ञका रूपमा परिचित थिए ।
आफ्ना हजुरबुबाको पदचाप पछ्याउँदै पत्रकारिताको सफल पेशालाई विश्राम दिएर राजनीतिमा होमिएका शिवाकोटीले छोटो समयमै कांग्रेसको केन्द्रीय सदस्य जस्तो सम्मानित पदमा पुगेर आफ्नो इमान र निष्ठा प्रमाणित गरिसकेका छन् ।

व्यावसायिक मर्यादामा सम्झौता नगर्ने स्वभावका उनले दोलखाली जनताको भाग्य र भविष्य निर्माणको गहन जिम्मेवारी उठाउने संकल्पका साथ घरदैलो अभियान शुरू गर्दै ‘अजयको विजय, दोलखालीको जय’ भन्ने मूलमन्त्र अघि सारेका छन् ।
शिवाकोटीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा दोलखाको पूर्वाधार विकासका लागि लामोसाँगु–जिरी सडकको स्तरोन्नति र लामाबगर–तिब्बत नाका खोल्ने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

उनले दोलखा जोड्ने सुरुङ मार्ग र अलपत्र ठूला आयोजनाहरूको प्राविधिक तथा आर्थिक सुनिश्चितताका लागि पहल गर्ने उल्लेख गर्दै जिल्लाको सडक सञ्जाललाई व्यवस्थित बनाउन रिङरोडको अवधारणालाई पूर्णता दिने विश्वास दिलाएका छन् ।
पर्यटनको क्षेत्रमा नयाँ क्षितिज उघार्ने लक्ष्यका साथ उनले जिरी र शैलुङलाई अन्तर्राष्ट्रिय स्तरको उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने र कालिञ्चोकदेखि च्छो–रोल्पा र लप्चीसम्म एकीकृत पर्यटन गुरुयोजना बनाउने योजना प्रस्तुत गरेका छन् ।

खरिढुङ्गा क्षेत्रको डाङडुङ्गे डाँडामा फिल्म नगरी निर्माण गरी अन्तर्राष्ट्रिय सुटिङ थलो बनाउने र दोलखाको अध्यात्मलाई विश्वसँग जोड्न भीमसेन तथा रामायण ‘रिलिजियस सर्किट’को अवधारणा कार्यान्वयन गर्ने उनको संकल्प छ ।

धार्मिक र सांस्कृतिक पर्यटनसँगै शिवाकोटीले कृषि र पशुपालनलाई दोलखाको गौरवका रूपमा परिभाषित गर्दै ’एडप्ट अ फार्म’ नीति र डिजिटल कार्ड प्रणालीमार्फत किसानलाई बिचौली मुक्त बजार र आम्दानीको ग्यारेन्टी गर्ने बताएका छन् । उनले खरिढुङ्गाको म्याग्नेसाइट र आलम्पुको ढुङ्गा खानी उत्खनन गरी स्थानीयलाई शेयर र रोजगारी दिने तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने योजना अघि सारेका छन् ।

स्वास्थ्य र शिक्षाको क्षेत्रमा चरिकोट अस्पताललाई आधुनिक रिफरल हस्पिटल बनाउने, प्राविधिक शिक्षामा जोड दिँदै प्रत्येक स्थानीय तहमा आवासीय विद्यालय सञ्चालन गर्ने र आईटी तथा हाइड्रो इन्जिनियरिङ एकेडेमी स्थापना गर्ने उनको प्रतिबद्धता छ । युवाहरूलाई स्वदेशमै भविष्य देखाउनका लागि स्टार्टअप सपोर्ट, बिना धितो ऋण, र जिल्लाभर फ्रि–वाइफाई तथा डिजिटल हबको व्यवस्था गरी ’पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गर्ने उनको लक्ष्य रहेको छ ।

जलविद्युतको भण्डार मानिने दोलखामा ‘जनताको पानी, जनताकै लगानी’ अभियान सञ्चालन गर्दै जलविद्युत रोयल्टीको कम्तीमा ५० प्रतिशत हिस्सा जिल्लाकै शिक्षा र स्वास्थ्यमा खर्च गराउने शिवाकोटीको प्रमुख नीतिगत एजेन्डा रहेको छ । माथिल्लो तामाकोशी आयोजनाको लागत वृद्धिको सत्यतथ्य सार्वजनिक गर्ने, विद्युत खरिद सम्झौता पुनरावलोकन गर्ने र खिम्ती जलविद्युत आयोजनामा जिल्लाबासीको शेयर लगानी सुनिश्चित गराउन उनले विशेष पहल गर्ने बताएका छन् ।

साथै लोपउन्मुख सुरेल र थामी जातिको विकासका लागि अन्तर्राष्ट्रिय अध्ययन केन्द्र तथा सांस्कृतिक ग्राम निर्माण गर्ने र खेलकुद विकासका लागि जिल्लाभर हरियो घाँसे मैदान र हाइ अल्टिच्युड एकेडेमी बनाउने उनको मार्गचित्रमा उल्लेख छ ।
वर्तमान राजनीतिक अस्थिरता र कुशासन विरुद्ध ‘सुधारिएको कांग्रेस’ र सक्षम नेतृत्वको आवश्यकता औँल्याउँदै शिवाकोटीले आफू संसद्मा केवल संख्या बन्न नभई दोलखालीको आवाज बन्न र राष्ट्रिय नीतिमा यहाँका समस्यालाई समेट्न उभिएको प्रष्ट पारेका छन् ।

भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउँदै जनताप्रति उत्तरदायी सरकार बनाउन र दोलखाका एजेन्डालाई राष्ट्रिय प्राथमिकतामा पार्न आफू निरन्तर लागिपर्ने उनले प्रतिबद्धता जनाएका छन् । शिवाकोटीले फागुन २१ को निर्वाचनमा आफूलाई अमूल्य मत दिएर दोलखाको बहुआयामिक सुदृढीकरणको नेतृत्व गर्ने अवसर दिनुहुन सम्पूर्ण मतदाताहरूमा हार्दिक अपील गर्दै आफूले देखाएका सपनाहरू वाचा मात्र नभई काम गरेर देखाउने संकल्प दोहोर्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.