सडक क्षेत्राधिकार आठ मिटर कायम
सुदूरपश्चिम। धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ मिटर कायम गर्ने निर्णय गरेको छ। नगरसभाको आज बसेको बैठकले जग्गा ‘प्लटिङ’ सम्बन्धी यसअघिको कार्यविधि संशोधन गर्दै सडक क्षेत्राधिकार आठ मिटर कायम गर्ने प्रस्ताव पारित गरेको हो।
नगरसभा सदस्य एवं वडा नं १३ का अध्यक्ष विजय जोशीले सडक क्षेत्राधिकारमा एकरुपता कायम गर्न कार्यविधि संशोधन गरेर आठ मिटर कायम गर्ने प्रस्ताव पारित भएको जानकारी दिए।
उनले भने, ‘यसअघिको कार्यविधिमा तोकिएको सडकको क्षेत्राधिकारले नागरिकहरु गुनासो गर्दै अदालत धाउन थालेकाले भविष्यलाई लक्ष्य गरेर कार्यविधि संशोधन गरेर यो प्रस्ताव पारित गरिएको छ।’
जग्गाको अंशबन्डा गर्दा र व्यावसायिक रुपमा प्लटिङ गर्दाको सडक क्षेत्राधिकारमा एकरुपता ल्याउन कार्यविधि संशोधन गर्नुपरेको हो। दुई वर्षअघिको बैठकले १० मिटर चौडा सडक क्षेत्राधिकार कायम गर्नेगरी जग्गा प्लटिङसम्बन्धी कार्यविधि पारित गरेको थियो। सडकको क्षेत्राधिकार अनावश्यक रुपमा बढी भएको भन्दै कतिपय जनप्रतिनिधिले असहमति जनाएका थिए। असहमतिसँगै निर्णय कार्यान्वयनको चरणमा लैजान विवाद उत्पन्न भएको थियो।
सडक क्षेत्राधिकार १० मिटर कायम भएपछि धेरैजसो जग्गाधनी र घरधनी प्रभावित भएका थिए। आठ मिटर कायम भएसँगै तीमध्ये धेरै समस्या समाधान हुने अपेक्षा गरिएको छ। प्लटिङ स्वीकृति, नक्सा पास र नयाँ घर निर्माण प्रक्रिया सहज हुने देखिएको छ। सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी उपमहानगरपलिका क्षेत्र तीव्र रूपमा सहरीकरण भइरहेको छ। सीमावर्ती व्यापार, बसाइँसराइ र सेवा केन्द्रका रूपमा विकास हुँदै जाँदा सडक पूर्वाधारको दीर्घकालीन योजना आवश्यक हुन्छ।







डिसी नेपाल







Facebook Comment