रास्वपा मकवानपुर सभापति भरत पराजुलीले पार्टी छोडे

डिसी नेपाल
११ फागुन २०८२ १०:११
2.6k
Shares

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुरको हुप्राचौरमा शक्ति प्रदर्शनको तयारी गरिरहेका बेला सोही पार्टीका जिल्ला सभापति भरत पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

सभापति रवि लामिछानेले सम्बोधन गर्ने भनिएको बृहत् आमसभा सुरु हुनुभन्दा केही घण्टाअघि मात्रै पराजुलीले रास्वपा परित्याग गरी ३० वर्ष बिताएको पुरानै घर कांग्रेस फर्किएका हुन्।

पराजुलीलाई सोमबार बिहान नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा स्वागत गरे। पराजुलीसँगै मकवानपुर क्षेत्र नं. २ का निर्वाचन परिचालन समिति संयोजक समेत कांग्रेस प्रवेश गरेका छन्।

गत प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर-२ बाट १२ हजार ५९ मत प्राप्त गरेका पराजुलीको बहिर्गमनलाई रास्वपाको स्थानीय संगठनमा ‘पहिरो’ गएको रूपमा हेरिएको छ।

रास्वपा परित्याग गरी कांग्रेस प्रवेश गर्ने यो लहर मकवानपुरमा मात्र सीमित छैन। हिजो मात्रै नुवाकोटमा रास्वपाका प्रभावशाली नेता तथा गत निर्वाचनमा १६ हजारभन्दा बढी मत ल्याएका सुमन पाण्डे सहित ठूलो संख्यामा नेता-कार्यकर्ताहरू कांग्रेसमा समाहित भएका छन्।

पाण्डे र पराजुली जस्ता स्थापित र जनमत भएका नेताहरूले नै पार्टी छाडेपछि रास्वपाको ‘नयाँ शक्ति’ को नारामाथि गम्भीर नैतिक प्रश्न उठेको छ।

पराजुलीले आफ्नो भिडियो सन्देशमा रास्वपा अहिले एउटा ‘लिमिटेड कम्पनी’ वा ‘सीमित व्यक्तिको क्लब’ जस्तो भएको र त्यहाँ आलोचना गर्नेहरूलाई पाखा लगाउने ‘चाकरीवाद’ हाबी भएको बताएका छन्। उनले भने, “हामीले आदर्शका लागि पार्टी बनायौँ, तर त्यहाँ व्यक्तिगत स्वार्थ र आर्थिक प्रभावले ठाउँ पायो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.