बागमती प्रादेशिक ललितकला प्रदर्शनी तथा सम्मेलन सम्पन्न
काठमाडौं। ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी/सम्मेलन २०८२’ आज सम्पन्न भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा यही फागुन ८ गतेदेखि काठमाडौंमा सम्मेलन सुरु भएको थियो।
सम्मेलन समापन समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रादेशिक प्रदर्शनीले ललितकला क्षेत्रको प्रचारप्रसार, नीतिनिर्माण तहमा पहुँच बढाउन सहयोग पुगेको बताउँदै ललितकलासम्बन्धी थप वैचारिक बहस गर्न आवश्यक रहेको बताए।
उनले सम्मेलनमा आएका सुझाव, जिज्ञासा र प्रश्नको अनुसन्धान, विश्लेषण र अभिलेखीकरण गरी भावी कार्ययोजना तय गरिने प्रतिबद्धता जनाए।
प्रतिष्ठानका उपकुलपति एवं बागमती प्रदेश समन्वय समितिका संयोजक लालकाजी लामाले ललितकला क्षेत्रका नीतिगत, संरचनागत तथा कार्यक्रमगत विषयमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बताए।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले कलाकार स्रष्टा मात्रै नभइ आफैमा द्रष्टा र ‘मोरल ल मेकर’ पनि भएको बताए। उनले कलाकार युगको मस्तिष्क निमार्णकर्ता तथा सभ्यता, संस्कृति जगाउने पुँजी भएकाले कलाको पुनःजागरणको अभियानमा जोडिन सबैलाई आग्रह गरे।
बागमती प्रदेश पर्यटन कार्यालय काठमाडौंका प्रमुख पवनकुमार पोखरेलले प्रदेश सरकारले संस्कृतिका क्षेत्रमा गरेका कार्यहरूसँगै अन्तक्र्रिया कार्यक्रममा उठान भएका प्रश्नको जवाफ दिएका थिए। उनले कलाले देशको परिचय जोगाउने काम गरिरहेको बताउँदै कलाका विषयमा प्रदेश सरकारले प्रतिष्ठानसँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव काफ्लेले ‘ललितकला र यसको महत्त्व’, ललितकला क्याम्पस भोटाहिटीका प्रमुख डा यामप्रसाद शर्माले बागमती प्रादेशिक ललितकला प्रदर्शनीसम्बन्धी प्रस्तुति र लेखक अजय शर्माले ‘कलामा एआई सङ्कट कि अवसर’ विषयमा आफ्नो प्रस्तुति दिएका थिए। प्रदर्शनीको कला प्रवर्द्धक नेपाल पर्यटन बोर्ड रहेको थियो। रासस







डिसी नेपाल







Facebook Comment